Aamsanchar

झापामा एमाले कमजोर बन्दै, ओलीको गम्भीर चिन्ता

Author Image
शनिवार, चैत ३०, २०८१

दमक । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा पार्टी संगठन कमजोर हुँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। गृहनगर दमकमा आयोजित एक जागरण सभालाई सम्बोधन गर्दै ओलीले पार्टीको उद्गमस्थलमै संगठन खस्कँदो अवस्थामा पुग्नु दुःखद रहेको बताए।

“नेकपा एमालेको उद्गम जिल्ला हो, झापा। हामीले यहाँ संघर्ष गरेर संगठन बनायौं, स्ववियु गठनको नाममा गिरफ्तार भइयो, जेलनेल भोगियो। तर आज त्यही ठाउँमा पार्टी कमजोर हुँदै जानु अत्यन्त चिन्ताको विषय हो,” ओलीले भने।

उनले कार्यकर्तालाई नयाँ जोश र जाँगरका साथ संगठनलाई पुनः सुदृढ बनाउन निर्देशन दिएका छन्। “पार्टीका कमिटीहरूलाई चुस्त बनाउनुहोस्, जनवर्गीय संगठनहरूलाई व्यवहारमा प्रभावकारी बनाउनुहोस्। तिनीहरू शीरको ताज मात्रै होइनन्,” उनले स्पष्ट पारे।

ओलीले कोशी प्रदेशलाई ‘जागरुक प्रदेश’को संज्ञा दिँदै यहाँका जनतामा राजनीतिक चेतना उच्च भए पनि त्यसको व्यवहारिक प्रतिफल नदेखिनु खेदजनक रहेको टिप्पणी गरे।

“शिक्षा, चेतना र संगठनको हिसाबले झापा अगाडि थियो। तर अहिले त्यो सक्रियता र समर्पण गुम्दै गएको छ,” ओलीले भने, “अब फेरि जाग्ने बेला आएको छ।”

उनको पछिल्लो अभिव्यक्तिले एमाले नेतृत्व संगठनात्मक कमजोरीलाई लिएर चनाखो बनेको र पुनर्संयोजनको तयारीमा रहेको संकेत गर्दछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर