

विराटनगर । कोशी प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रोफेसर डा. दामोदर थापा क्षेत्रीलाई नियुक्त गरेको छ। उनी विश्वविद्यालय सेवा आयोगको दोस्रो अध्यक्ष हुन्।

आइतवार एक कार्यक्रमबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ गराए। मोरङको बुढीगंगा–४, हात्तीमुढास्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित सो समारोहमा सहकुलपति तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राई, उपकुलपति डा. सुवासश्री पोखरेल, संरक्षण समिति सदस्य सत्यनारायण चौधरी, रजिष्ट्रार डा. दिलनाथ फुँयाल, डिन प्रा. डा. प्रचण्डमान प्रधानलगायतको उपस्थिति थियो।

कोशी प्रदेश सरकारले २०७६ सालमा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालय देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो। हाल विश्वविद्यालयमा इन्जिनियरिङ, कानून, औषधी विज्ञान र अस्पताल व्यवस्थापन सम्बन्धी अध्ययन कार्यक्रम सञ्चालनमा छन्।


विश्वविद्यालयसँग आफ्नै सेवा आयोग, परीक्षा कार्यालय, अनुसन्धान केन्द्र, पुस्तकालय तथा विभिन्न प्रयोगशालाहरू रहेका छन्। हाल तीनवटा स्कुलहरू सञ्चालनमा छन्।

