




काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।


राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा उनीहरूसहितलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिइएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। उक्त कसुरमा २७ जना प्रहरी हिरासतमा छन्।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बनेपछि उनीहरूलाई पक्राउ गरिएको थियो। उक्त प्रदर्शनमा एक पत्रकारसहति दुई जनाले ज्यान गुमाएका थिए।

त्यस घटनामा संलग्न रहेको आरोपमा अरु २७ जनालाई हिरासतमा राखेर आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।
दुवै कसुरका ५४ जना आरोपी अहिले प्रहरी हिरासतमा छन्।




