Aamsanchar

वाटरल्यान्ड पार्कमा तोडफोड र झडप, १० जना विद्यार्थी पक्राउ

Author Image
शनिवार, जेठ ४, २०८२

धनुषा- धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा रहेको वाटरल्यान्ड पार्कमा तोडफोड तथा झडप गर्ने १० जना विद्यार्थी पक्राउ परेका छन् । विशेष छुटमा नुहाउन पुगेका कक्षा १२ का परीक्षा दिएका परीक्षार्थीहरू आज दिउँसो वाटरल्यान्ड पार्कमा तोडफोड गरेका छन् ।

सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । जनकपुर ढल्केवर सडकखण्ड समेत अवरुद्ध गरेर तोडफोड गर्न थालेपछि प्रहरी र विद्यार्थीबीच झडप भएको थियो ।

झडपको क्रममा चार सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जीव कुमार यादवले जानकारी दिए । उनका अनुसार झडपमा ढुङ्गामुढा लागेर पाँचजना प्रहरी समेत घाइते भएका छन् ।

तोडफोडमा संलग्न रहेको आरोपमा १० जना विद्यार्थीलाई पक्राउ गरेको छ । ‘अहिले तत्काल १० जनालाई पक्राउ गरिएको छ । हामी सिसिटिभी फुटेजहरू क्यामेराहरू हेर्दैछौँ । त्यसमा कसले के गरेको छ त्यस अनुसार अनुसन्धान गर्दै संलग्नलाई पक्राउ गर्छौं,’ उनले  भने ।

विद्यार्थीको भिडले सडकमा चल्ने दुईवटा सवारी साधनमा समेत तोडफोड गरेका छन्। पार्कमा लाखौँको क्षति भएको छ । अहिले एकिन विवरण आइसकेको छैन । दुई डेढ महिना अघि मात्र पार्क सञ्चालनमा आएको थियो ।

डीएसपी यादवका अनुसार, पार्कले नुहाउनका लागि प्रतिव्यक्ति ९०० शुल्क लिने गरेको छ । आज कृष्ण फाउन्डेसनको सहयोगमा प्रचारप्रसारका लागि कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूको लागि जनही १०० रुपैयाँ शुल्क मात्र राखिएको थियो ।

तर नुहाउन १५०० देखि २००० विद्यार्थी पुगेपछि क्षमता भन्दा बढी हुँदा उनीहरू तोडफोडमा उत्रेका थिए । त्यस क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो ।

Views: 308

प्रतिक्रिया (०)

सम्बन्धित खबर