




काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र जापानका उपविदेशमन्त्री इक्युना आकिकोबीच शिष्टाचार भेट भएको छ। सगरमाथा संवादमा सहभागी हुन नेपाल आएका जापानका उपविदेशमन्त्री आकिकोले प्रधानमन्त्री निवास, बालुवाटारमा आज ओलीसँग शिष्टाचार भेट गरेकी हुन्।


भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युनालाई धन्यवाद दिए। प्रधानमन्त्री ओलीले अनुकूल पूर्वाधार निर्माण, वातावरणीय दिगोपना र विपद् जोखिम न्यूनीकरणमा जापानी अनुभव आफूहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गरे।

उपमन्त्री इक्युनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै बहुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताइन्। भेटमा नेपालका लागि जापानी राजदूत माइदा तोरु, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।





