कन्याम । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा आयोजित प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फोटोपत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ।


प्रथम हुन सफल फोटो । फोटो : एपी तोलाङ
प्रतियोगितामा बसन्त लिम्बू दोस्रो, डेविड ओझा तेस्रो, निसान्त राना चौथो तथा मनोज बस्नेत पाँचौं स्थानमा परेका छन्। उत्कृष्ट पाँच फोटोग्राफररफोटोपत्रकारलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ। पुरस्कार वितरण प्रमसुख अतिथि वन तथा पर्यटन मन्त्री सदानन्द मण्डलले गरे।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा तथा नेपाल फोटोपत्रकार महासंघ कोशी प्रदेशको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो। प्रतियोगितामा प्राप्त २०८ फोटोहरूमध्ये ६० उत्कृष्ट फोटोहरू छनोट गरी प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक तथा फोटोपत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष विनाद पाण्डेले जानकारी दिए।



कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्ण शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सांसद सम्शेर राई, सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, इलाम उद्योग वाणिज्य संघका उपाध्यक्ष दिव्या भट्टराई, र होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी गौतमलगायतले मन्तव्य राखेका थिए।
कार्यक्रम सञ्चालन पत्रकार सन्तोष र्पूकोटीले गरेका थिए। प्रदर्शनी स्थलमा ४ सय भन्दा धेरै अवलोकन कर्ताको उपस्थिती रहेको आयोजकले जनाएको छ ।



