Aamsanchar

विमानका चालक शाैचालय गएको वेला सहचालक बेहोस भएपछि….

Author Image
आइतवार, जेठ ५, २०८२

एउटा जर्मनीबाट स्पेनतर्फ उडिरहेको लुफ्थान्सा विमानमा सह–पाइलटको अचानक बेहोस हुनु र क्याबिनमा भएको घटना अनुसन्धानको विषय बन्यो।
सह–पाइलटलाई न्युरोलोजिकल समस्या भएको पुष्टि भएपछि उनलाई अस्पताल लगिएको छ र उनको चिकित्सकीय उडान अनुमति निलम्बित गरिएको छ।
घटना समयमा कप्तानले विमानलाई म्याड्रिडतर्फ मोडेर सुरक्षित रुपमा अवतरण गराए र यात्रु तथा चालक दलको सुरक्षा सुनिश्चित गरे।
४ जेठ, काठमाडौं । लुफ्थान्सा विमान जर्मनीबाट स्पेनतर्फ उडिरहेको थियो । एउटा अचम्म र डरलाग्दो अवस्था बन्यो जब कप्तान शौचालय गएका थिए, सह-पाइलट बेहोस् भएका थिए । घटना हो फेब्रुअरी २०२४ को ।

घटना पुरानो भए पनि अनुसन्धान प्रतिवेदन भने हालसालै सार्वजनिक भएको छ ।

एयरबस ए३२१ विमानमा १९९ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। विमान फ्रान्कफर्ट, जर्मनीबाट सेभिया, स्पेनतर्फ जाँदै थियो।

कप्तानको प्रष्टीकरणः म शौचालय जाँदा सह-पाइलट ठिक थिए

४३ वर्षीय कप्तानले अनुसन्धानकर्ताहरूसँग आफू शौचालय जाँदा ३८ वर्षीय सह–पाइलट बिलकुल ठीकठाक र सतर्क थिए।

विमान अवतरण हुन अझै ३० मिनेट बाँकी थियो, त्यसैले पाइलटले शौचालय जाने उपयुक्त समय भन्ठाने । जब पाइलट करिब ८ मिनेटपछि फर्किए तर सुरक्षा कोड प्रविष्ट गर्दा पनि ककपिटमा प्रवेश गर्न सकेनन् ।

कप्तान डराए र कुराकानीका लागि इन्टरकम प्रयोग गरे, तर पनि कुनै प्रतिक्रिया आएन। त्यसपछि उनले आपतकालीन कोड प्रयोग गरेर ढोका खोल्ने प्रयास गरे। त्यही बेला भित्रबाट सह–पाइलटको होस खुल्यो र उनले ढोका आफैं खोले।

‘सह–पाइलटको अनुहार उडेको थियो, पसिना आइरहेको थियो र उनी अनौठो किसिमले हिंडिरहेका थिए,’ कप्तानले बताए। त्यसपछि उनले क्याबिन क्रूलाई सहयोगका लागि बोलाए।

सह–पाइलटलाई चालक दल र यात्रुका रूपमा यात्रा गरिरहेका एक डाक्टरले प्राथमिक उपचार दिए। डाक्टरले सम्भावित मुटुसम्बन्धी समस्या भएको अनुमान गरेका थिए।

सह–पाइलटले भने: कतिबेर बेहोस भएँ, थाहै छैन

अनुसन्धान प्रतिवेदनका अनुसार सह–पाइलटले आफू कतिबेला बेहोस् भएँ भन्ने थाहा नपाएको बताए । ‘म बेहोस भएछु, तर कहिले भएँ भन्ने थाहा छैन। त्यसअघि मलाई सरागोसा माथि उडिरहेको सम्झना छ, त्यसपछि क्याबिन क्रू र डाक्टरले उपचार गरिरहेको अवस्थामा ब्युँतिएँ।’

अनुसन्धान प्रतिवेदनअनुसार, ‘उनको बेहोसी यति एक्कासी भयो कि उनले अरू चालक दललाई जानकारी दिन पनि भ्याएनन्।’

कप्तानले त्यसपछि विमानलाई नियन्त्रण लिए र त्यसबेला सबैभन्दा नजिकको विमानस्थल म्याड्रिडतर्फ मोडे। सह–पाइलटलाई तत्काल अस्पताल लगियो, जहाँ चिकित्सकहरूले उनको एक्कासी र गम्भीर रूपमा बेहोस हुनुको कारण न्युरोलोजिकल समस्या भएको बताए।

अहिले उनको चिकित्सकीय उडान अनुमति निलम्बन गरिएको छ ।

Views: 507

प्रतिक्रिया (०)

सम्बन्धित खबर