Aamsanchar

भिजिट भिसाका आडमा तस्करी ? त्रिभुवन विमानस्थलका ६ अध्यागमन कर्मचारी हटाइए

Author Image
शुक्रवार, जेठ १०, २०८२

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय फेरि एक पटक विवादको घेरामा परेको छ। भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको शंकासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सूक्ष्म निगरानी र अनुसन्धानले विमानस्थलको अध्यागमन संयन्त्रको तहसम्मै प्रश्न उठाएको छ।

यसैबीच गृह मन्त्रालयले छानबिनलाई सहयोग पुर्‍याउने भन्दै विमानस्थलमा कार्यरत ६ जना नायब सुब्बालाई अचानक जिम्मेवारीबाट हटाएको छ। एक अधिकारीका अनुसार, उनीहरूलाई मन्त्रालयमै तानिएको छ र अध्यागमन प्रक्रियामा उनीहरूको भूमिकाबारे आन्तरिक जाँच पनि अघि बढाइएको छ।

अध्यागमन प्रमुख पक्राउ
दुई दिनअघि मात्रै अख्तियारको टोलीले अध्यागमन कार्यालयमा छापा मारी महत्वपूर्ण कागजात र कम्प्युटरहरू बरामद गरेको थियो। अनुसन्धानकै सिलसिलामा कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि यस प्रकरणले गम्भीर मोड लिएको हो। दिनभर सोधपुछ गरेपछि उनलाई भोलिपल्ट पुनः उपस्थित हुने शर्तमा छाडिएको छ।

एक महिना अघिदेखिको तयारी
सूत्रका अनुसार आयोगले करिब एक महिनाअघि नै यस विषयमा अनुसन्धान थालिसकेको थियो। अनुसन्धानको संकेत पाउँदा भट्टराईले सरुवा मागेको तथ्यले पनि घटनालाई अझै शंकास्पद बनाएको छ।

के छ पृष्ठभूमि ?
भिजिट भिसाको प्रयोग गरेर नेपाली नागरिकलाई गैरकानुनी रूपमा तेस्रो मुलुकतर्फ पठाउने कार्यमा विमानस्थल अध्यागमन कर्मचारीको संलग्नता रहेको आशंका छ। मानव तस्करीको यो शैलीमा सरकारी संयन्त्रको मिलोमतो रहेको संकेतले देशकै सुरक्षामा चुनौती थपिएको छ।

अब आयोगको अनुसन्धानबाट के(कस्ता तथ्यहरू बाहिरिन्छन् र त्यसले सरकारी संयन्त्रको सुधारतर्फ कस्तो बाटो देखाउँछ भन्नेमा सबैको चासो केन्द्रित भएको छ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर