झापा । अनिश्चितकालीन आन्दोलनको संघारमा रहेका राजावादीहरू जेठ १५ बाट सडकमा उत्रन तयारी गरिरहँदा, पूर्वराजा ज्ञानेन्द्र शाह आज साँझ अचानक झापा अवतरण गरेका छन्। साँझ ५ः३० बजे चन्द्रगढी विमानस्थल ओर्लिएका शाह आफ्नी भतिजी सिताष्मा शाह र छोरी प्रेरणा शाहसहित दमक प्रस्थान गरेका हुन्।


विमानस्थलमा उनीहरूलाई स्वागत गर्न केही निष्ठावान समर्थक पुगे पनि व्यापक रूपमा सूचना नगरिएको स्रोतको दाबी छ। राजसंस्था पुनस्र्थापना समिति झापा संयोजक टेकनारायण राजवंशीले आफूलाई स्वागतका लागि खबर नै नगरिएको भन्दै असन्तोष व्यक्त गरे।


पूर्वराजा शाह दुई हप्ते झापा बसाइका लागि आएका हुन्। दमक–९ स्थित हिमालयन महालक्ष्मी टि इस्टेटको ’मिनी दरबार’ मा उनी बस्ने कार्यक्रम छ। उनले जेठ २५ गतेसम्म झापामै बस्ने तय भएको छ।

पूर्वराजाको यो यात्रा राजनीतिक रूपमा पनि अर्थपूर्ण मानिएको छ। खासगरी राप्रपालगायतका राजावादी शक्तिहरू आन्दोलनको तयारीमा रहेका बेला ज्ञानेन्द्रको झापा आगमनलाई ‘सङ्केतात्मक उपस्थिति’ को रूपमा हेरिएको छ। आन्दोलनको सुरुआतको मुखैमा राजधानी छाडेर झापा आउनु र त्यहीँबाट राजनीतिक भेटघाट र समन्वयमा जुट्नुले राजतन्त्र पुनस्र्थापनाको सम्भावित रणनीतिमा गहिरो सन्देश बोकेको विश्लेषण गरिएको छ।

राजधानीतिर नजर लगाइरहेका समर्थकहरू आन्दोलनतिर केन्द्रित हुँदै गर्दा पूर्वराजाको झापा यात्रा कुन नयाँ राजनीतिक मोड ल्याउने हो, त्यो भने अबको केही दिनले प्रस्ट पार्नेछ।




