काठमाडौँ – नेपालको सातवटै प्रदेशको सिर्जनशीलतालाई एकैठाउँमा राखि राष्ट्रिय ललितकला प्रदर्शनी हुने भएको छ ।


नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यहि जेठ १५ गते देखि ३० गतेसम्म शुरु हुन लागेको राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ बारे सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।


प्रदर्शनीमा सातै प्रदेशका पाँच सय एकहत्तर जना कलाकारका कुल छ सय छवटा कलाकृति प्रदर्शनीमा राखिने भएको छ नेपाली चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला र अन्य सिर्जनात्मक विधाहरूको संरक्षण, प्रवद्र्धन र समृद्धिलाई लक्ष्य गर्दै आयोजना गरिएको यस प्रदर्शनीलाई देशकै सबैभन्दा ठूलो ललितकला महोत्सवका रूपमा लिइएको छ।

प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ मा सहभागी कलाकारहरूका कलाकृति छनोट गरी राष्ट्रिय स्तरमा प्रदर्शनमा ल्याएको हो। यसअघि २०७८ सालमा पहिलो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय प्रदर्शनी गरिएको थियो। यसपटक कोसी प्रदेशबाट ८२, मधेसबाट ९८, बागमतीबाट १८३, गण्डकीबाट ५५, लुम्बिनीबाट ६६, कर्णालीबाट ४१ र सुदूरपश्चिमबाट ३९ कलाकृति प्रदर्शनीमा समावेश गरिएका छन्। त्यस्तै अप्रतियोगीतर्फ ७८ कलाकृति पनि समावेश गरिएका छन्।

समसामयिक चित्रकलाका २०१ कलाकारका २०८ कलाकृति, परम्परागत चित्रकलाका ७२ कलाकारका ७३, आधुनिक मूर्तिकलाका ५१ कलाकारका ५२, परम्परागत मूर्तिकलाका १८, वास्तुकला तथा लोककलाका ८८, हस्तकला विधाका ७९, फोटोग्राफी र बहुआयामिक सिर्जनात्मक कलाका ५९, प्रतिस्थापन कलाका ९, कार्टुन, क्यारिकेचर, डिजिटल र भावभङ्गी कलाका पनि उल्लेख्य संख्यामा कलाकृति समेटिएका छन्।
प्रदर्शनीमा विभिन्न पुरस्कार तथा सम्मान पनि घोषणा गरिएको छ। ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ यसपटक डा. सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरिनेछ जसको राशी १ लाख ५० हजार रुपैयाँ रहेको छ। सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार परम्परागत चित्रकला विधाका विनम्र डङ्गोललाई प्रदान गरिनेछ भने समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्फ ज्योतिकुमारी सापकोटा र फोटोग्राफीतर्फ सफल प्रकाश श्रेष्ठलाई राष्ट्रिय पुरस्कार प्रदान गरिनेछ। यी सबै पुरस्कारको राशी ६० हजार रुपैयाँ रहेको छ।
नवप्रतिभा पुरस्कार भीमबहादुर बिकले पाउनेछन् भने प्रादेशिक नवप्रतिभा पुरस्कार कोसीबाट भावना गुरुङ, मधेसबाट निरुपम जयसवाल, बागमतीबाट सुप्रिना घलान, गण्डकीबाट धावा दोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु र सुदूरपश्चिमबाट निशान्त सुनारले प्राप्त गर्नेछन्। यस्तै, ललितकला लेखन पुरस्कार सरोज बज्राचार्यलाई र पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका शिवा तामाङ र नेपाल टेलिभिजनका हेमन्त गौतमलाई प्रदान गरिनेछ।
ललितकला प्रवद्र्धनतर्फ नेपाल हस्तकला महासङ्घ र कलाकार प्रतिमा पाण्डेलाई सम्मान गरिनेछ। त्यस्तै, प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार सातवटै प्रदेशका कलाकारहरूलाई छुट्टाछुट्टै प्रदान गरिनेछ जसमा ५० हजार रुपैयाँ राशी र सम्मानपत्र समावेश छन्।
स्मृति पुरस्कार अन्तर्गत सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार अस्मिना रन्जित र बाबुराम लामा स्मृति पुरस्कार गंगाधर सारुलाई प्रदान गरिनेछ। दुवै पुरस्कारको राशी ५०÷५० हजार रुपैयाँ रहेको छ।
राष्ट्रिय प्रदर्शनीको मूल्याङ्कन समितिमा डा. सीमा शर्मा शाह, राधेश्याम मूल्मी, उदयचरण श्रेष्ठ, पूर्णप्रसाद योजु, ताराप्रसाद ओझा, रामनारायण महतो, प्रविण श्रेष्ठ, धर्मराज शाक्य, एरिना ताम्राकार, नवेन्द्र लिम्बू र प्रतिमा थकाली रहेका छन्।
प्रदर्शनीको लोगो सन् २०८० मै कलाकार प्रदीप शाक्यले तयार गरेका हुन्, जो यसपटक प्रदर्शनीका क्युरेटर पनि हुन्।
नेपाल प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय, विभिन्न स्थानीय तह, प्रज्ञा प्रतिष्ठानहरू, कलाकार सङ्घ तथा मिडिया साझेदारका रूपमा राष्ट्रिय फोटो पत्रकार समूहको सहकार्यमा आयोजना गरिएको प्रदर्शनी जेठ ३० गतेसम्म नक्सालस्थित प्रतिष्ठानको भवनमा चल्नेछ।
प्रदर्शनीका अवसरमा आयोजित पत्रकार सम्मेलनमा कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले, विभागीय प्रमुखहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी (सुसान्त), सौरगंगा दर्शनधारी, अरूणा हिङमाङ लगायतले कार्यक्रमबारे जानकारी गराउँदै कलाकारिता सामाजिक रूपान्तरणको आधार बन्न सक्ने धारणा राखेका थिए।




