




झापा — गणतन्त्र स्थापनाको १८ औं वार्षिकोत्सवका अवसरमा झापाको कनकाई नगरपालिकाले विशेष कार्यक्रम गरी झण्डात्तोलनसहित सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।


आज (बिहीवार) जेठ १५ गते, नगरपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटीसहित जनप्रतिनिधिहरूले राष्ट्रिय झण्डा फहराउँदै सहिदहरूको तस्वीरमा फुलगुच्छा अर्पण गर्दै गणतन्त्र दिवस मनाएका हुन्।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख पोखरेलले गर्नुभएको थियो भने स्वागत तथा औचित्यमाथि प्रकाश उप–प्रमुख शिवाकोटीले गर्नुभएको थियो। उप–प्रमुख शिवाकोटीले गणतन्त्र दिवसको अवसरमा आज साँझ नगरभरिकै मुख्य स्थलहरूमा दीप प्रज्वलन गरिने र भोलि (शुक्रवार) कनकाई आधारभूत नगर अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरिने जानकारी दिनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले गणतन्त्र स्थापनासँगै देशको विकासले तिव्रता पाएको उल्लेख गर्नुभयो। उहाँले गणतन्त्र पूर्व र पछिको विकासबीच आकाश–पातालको अन्तर रहेको भन्दै संघीय संरचनाले विकासलाई नयाँ गति दिएको धारणा राख्नुभयो। “स्थानीय तहको सक्रियताका कारण अहिले हरेक क्षेत्रमा बाटो, कालोपत्रे र अन्य पूर्वाधार निर्माण तीव्र रूपमा भइरहेको छ,”– प्रमुख पोखरेलले भन्नुभयो। उहाँका अनुसार सामाजिक विकासदेखि नागरिक सेवासम्ममा गुणस्तरीय सुधार सम्भव भएको छ।
कार्यक्रममा कनकाई–१ का वडाध्यक्ष सुशिलकुमार पोखरेल, २ का वडाध्यक्ष बलराम राई (प्रताप), ३ का वडाध्यक्ष युवराज चम्लागाईं, ४ का रोशन सुवेदी, ७ का भीष्मभूषण सिटौला, ८ का लीलाबहादुर कटुवाल, कार्यपालिका सदस्यहरू, वडा सदस्य, नगर कर्मचारी, नगर प्रहरीलगायतको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन कनकाई नगर अस्पतालका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गर्नुभएको थियो।




