




विराटनगर – प्रहरीलाई छल्नका लागि कुकुरको प्रयोग गरेर लागुऔषध ओसारपसार गरेको फेला पारिएको छ। त्यसरी कुकुरलाई लागुऔषध बोकाएर ल्याउने क्रममा एकजना पक्राउ परेका छन्।


भारतको जोगवनीबाट कुकुरको प्रयोग गरेर लागुऔषध ल्याउँदै गर्दा मोरङको उर्लाबारी नगरपालिका–४ का २४ वर्षीय प्रशान भण्डारीलाई प्रहरीले बिहीवार साँझ ५ बजेतिर पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट कुकुरसहित भण्डारी पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय रानी सीमाका प्रमुख एवं सई सुवास अधिकारीको नेतृत्वमा लागुऔषध नियन्त्रण ब्यूरोसमेतको टोली नेपाल–भारत सीमा क्षेत्रनजिक आकस्मिक चेकजाँचमा खटिएको थियो। त्यस क्रममा १ जना युवक कुकुर डोर्याउँदै भारतको जोगवतीतिरबाट आउँदै थिए।

उनको गतिविधि शंकास्पद लागेपछि नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गरेको थियो तर, साथमा केही फेला परेन। सोधपुछ गर्ने क्रममा कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’भित्र लुकाइछिपाइ ल्याएको अवस्थामा लागुऔषध फेला परेको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकार दिए। उनका अनुसार मान्छेले बोक्दा प्रहरीले पत्ता लगाउने बुझेर भण्डारीले लागुऔषध ओसारपसार गर्न कुकुरको प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।
कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’भित्र लुकाएर ल्याएको लागुऔषधजस्तो देखिने वस्तु ब्राउन सुगर (खैरो हेरोइन) ३.३६ ग्राम र नाइट्राजेपाम ३५ ट्याब्लेट बरामद गरिएको जोशीको भनाइ छ।
उनका अनुसार लागुऔषध बोक्न प्रयोग गरिएको कुकुर भण्डारीकै घरमा पालेको पाइएको छ। डीएसपी जोशीका अनुसार कुकुर डोर्याउँदै पैदल नै जोगवनी गएका उनले फर्कँदा घाँटीमा बाँधेको ‘बेल्ट’भित्र लुकाएर लागुऔषध ल्याएको पाइएको हो।
बरामद भएको लागुऔषध र कुकुरसहित नियन्त्रणमा लिएर उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ। उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।
यस विषयमा इलाका प्रहरी कार्यालय रानीका प्रमुख, इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ।




