बिर्तामोड । झापाको बिर्तामोडमा अवस्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडेललाई एक ऋण सदस्यले ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ। सहकारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त घटनाको कडा विरोध जनाउँदै दोषीलाई कारबाहीको माग गरेको छ।


सहकारीका अनुसार विर्तामोड नगरपालिका–१ का खगेन्द्र क्षेत्रीले बिहीबार बिहान पौडेललाई फोनमार्फत घरमै आएर कत्ती प्रहार गर्ने चेतावनी दिएका थिए। क्षेत्रीले यसअघि २०७७ साल चैत २ गते सहकारीबाट २५ लाख रुपैयाँ ऋण लिएका थिए। ब्याजसहित हाल त्यो रकम ४४ लाख २९ हजार ३४५ रुपैयाँ पुगेको छ।


ऋण असुली प्रक्रिया अन्तर्गत सहकारी सञ्चालक भिमबहादुर पौडेल क्षेत्रीको घर पुगेपछि उनीबाट धाकधम्की आएको र त्यसपछि संस्थाले कानुनी प्रक्रियामार्फत ऋण तिर्न अनुरोध गरेको बताइएको छ। सोही क्रममा कार्यकारी प्रमुख कृष्ण पौडेललाई समेत धम्की दिइएको हो।

पत्रकार सम्मेलनमा सहकारीका अध्यक्ष किशोर भट्टराईले धम्कीपूर्ण व्यवहारले सहकारी संस्था र कर्मचारीको मनोबल खस्काउने बताए। उनले भने, ूऋण तिर्न नपर्ने जस्तो मानसिकता बनाउने कार्य स्वीकार्य छैन। दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।ू

कोअपरेटिभ म्यानेजर्स क्लब झापाका सदस्य पर्वत चिमरियाले पनि सहकारी कर्मचारीहरूमाथि हुने आक्रमणप्रति आपत्ति जनाउँदै राज्यले यस्ता घटनामा तुरुन्त संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने बताए।
सहकारीले विज्ञप्ति जारी गर्दै कर्मचारीको सुरक्षाका लागि पनि स्थानीय प्रशासनसँग माग गरेको छ। संस्थाका अध्यक्ष भट्टराईले सहकारी एक आपसी सहयोगको माध्यम भएकाले ऋण लिने व्यक्तिले समयमा सावा र ब्याज तिर्ने दायित्व पुरा गर्नुपर्ने उल्लेख गरे।




