Aamsanchar

दमकका मेयरको घर बनाउन सहयोग अभियान

Author Image
आइतवार, असोज ५, २०८२

दमक । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले दमकलाई ध्वस्त पार्यो। दुई दिनमै सरकारी र निजी सम्पत्ति खरानीमा परिणत भए। सबैभन्दा ठूलो मारमा प¥यो नगरपालिका— जसका दुईवटा कार्यालय भवन पूर्ण रूपमा जलेर नष्ट भए, कागजात र सवारीसाधनसमेत खरानी बने। अहिले तत्काल नागरिकलाई सेवा दिने अवस्था छैन।
तर विडम्बना के भने, सार्वजनिक संरचना पुनर्निर्माण सुरु गर्नुपर्ने बेला नगरप्रमुख राम थापाको व्यक्तिगत घर बनाउने अभियान घोषणा भएको छ ।

नगर प्रमुख थापाको घर निर्माणका लागि राप्रपा झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय अध्यक्ष तथा वडा नम्बर ७ का अध्यक्ष भीम पौडेलको संयोजकत्वमा ‘राम थापा घर बनाउ नागरिक अभियान’ गठन गरिएको छ । समितिले रकम संकलन सुरु पनि गरिसकेको छ ।

यसबीच इलाका प्रहरी कार्यालय दमकको भवन पनि पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्रहरीसमेत बस्ने ठाउँ नभएको, आन्तरिक राजस्व कार्यालयसमेत खरानी भएको बेला नगरप्रमुखको घरलाई प्राथमिकता दिइनुले जनस्तरमा व्यापक असन्तोष चुलिएको छ ।

अझ रोचक कुरा— नगरपालिका भवनमा आगो लागिरहेको बेला मेयर थापा स्वयं आन्दोलनकारीसँगै नाराबाजी गरिरहेका थिए। थापासँग निकट व्यक्तिहरू र राप्रपाका कार्यकर्ताहरूले नै इलाका प्रहरी कार्यालयमा गरिएको आक्रमणमा अग्रता दिएका थिए भन्ने आरोप स्थानीयस्तरमा खुलेर उठेको छ ।

देशभर राप्रपाका नेताको घर वा कार्यालयमा आगजनी नभएको तर केवल दमकमा मात्र मेयर थापाको घर जलेर, लगत्तै ‘घर बनाउ अभियान’ सुरु हुनुले यो नियोजित त होइन भन्ने प्रश्न नागरिकस्तरमा गहिरिँदै गएको छ ।
नागरिकले प्रश्न गरेका छन ?
“नगरपालिका ध्वस्त, प्रहरी कार्यालय जलेर सेवा ठप्प, कर कार्यालय खरानी । यस्तो बेला मेयरको व्यक्तिगत घर बनाउन नागरिकबाट चन्दा संकलन गर्नै पर्ने? यो प्राथमिकता हो कि प्रहसन?”

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर