Aamsanchar

माओवादी केन्द्रमा ‘झोले’ संस्कृति चिर्दै : प्रचण्डको घडी र गंगाको ब्यागबारे बैठकमा उठ्यो चर्को प्रश्न

Author Image
शुक्रवार, असोज १०, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकमा शीर्ष नेतृत्वको विलासी जीवनशैलीबारे प्रश्न उब्जिएको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाउने भनिएको करिब ६४ लाख रुपैयाँको रोलेक्स घडी र उनकी छोरी, केन्द्रीय सदस्य गंगा दाहालले बोकेको २८ लाखको लुई भिटन ब्याग बैठकको केन्द्रीय विषय बनेको हो।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले लिखित प्रस्तावमार्फत् नेतृत्वको पारदर्शिता र आचरणमाथि औपचारिक प्रश्न उठाए।
उनको भनाइमा, “यदि मिडियामा आएको समाचार गलत हो भने अध्यक्षले तुरुन्तै सम्बद्ध मिडिया र सांसद सुनील शर्माविरुद्ध मानहानिको मुद्दा दायर गर्नुपर्छ। तर समाचार सही भए नेतृत्वले नैतिक जवाफ दिनुपर्छ।”

पन्तले यी विलासी वस्तुहरू उपहारस्वरूप पाइएको भए पनि त्यसलाई व्यक्तिगत रूपमा प्रयोग गर्नु अनुचित हुने जिकिर गरे। उनले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले उपहार बेचेर व्यक्तिगत फाइदा लिएको विवादको उदाहरण प्रस्तुत गर्दै, माओवादी नेतृत्वले पनि जनताको विश्वासलाई आघात पुर्‍याउने काम नगर्न चेतावनी दिए।

तर, बैठकमा उठेको प्रश्न केवल घडी र ब्यागमा मात्र सीमित भएन। पन्तले अघिल्ला वर्षका विवादास्पद मुद्दाहरू समेत समेट्दै नेताहरूको सम्पत्ति छानबिन, अजय सुमार्गीको ‘हेलो नेपाल’ प्रकरणमा राज्यलाई भएको करिब २० अर्ब नोक्सानी, जनमुक्ति सेनाको ‘पीएलए फन्ड’ मा २ अर्ब ८२ करोडको हिसाबकिताब, र ‘मालदार’ मन्त्रालय सम्हालेका नेताहरूको लाभबारे समेत निस्पक्ष छानबिन गर्न माग गरे।

उनको प्रस्तावलाई कतिपय नेताहरूले ‘पार्टीभित्र आत्मसमीक्षा सुरु गर्ने साहसिक कदम’ भनेका छन् भने केहीले ‘सार्वजनिक छवि जोगाउन गरिएको नाटक’ को टिप्पणी गरेका छन्।
तर एक कुरामा भने अधिकांश नेताहरू सहमत देखिए— माओवादी केन्द्रभित्र लामो समयदेखि जरा गाडेको ‘झोले संस्कार’ (नेतालाई प्रश्न नगर्ने, अन्ध समर्थन गर्ने प्रवृत्ति) अब ध्वस्त पारेर पारदर्शिता र जवाफदेहिताको बाटोमा अघि बढ्न जरुरी छ।

Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर