

बर्दिबास – बर्दीबास–१० खयरमारामा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी १३ महिलासहित २६ जना घाइते भएका छन्।

घाइतेहरुलाई बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालका चिकित्सकले दिएको जानकारीअनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ।

जिल्ला ट्राफिक प्रमुख लक्ष्मीराज जोशीका अनुसार बसको ठक्करबाट खयरमारा १० का ६५ वर्षिय पैदलयात्रु चुल्हाई चौधरीको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै उपचारको क्रममा बसमा सवार ईश्वरपुर १२ का १० वर्षिय प्रमिस खडकाको शुभ स्वस्तिक अस्पतालमा मृत्यु भएको छ।


अस्पताल प्रमुख प्रदीप कार्कीका अनुसार बालक खडकाको टाउकोमा गहिरो चोट लागेको छ।
जिल्ला ट्राफिक प्रमुख जोशीकाअनुसार खयरमाराबाट काठमाडौंतर्फ जाँदैगरेको ना ६ ख १४६४ नम्बरको यात्रुबस आज विहान बर्दीबास १० खयरमारास्थित लक्ष्मीनारायन माध्यमिक विधालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोकिएर दुर्घटना भएको हो।
दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन। प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिका कारण चालकले सन्तुलन गुमाउन गएका कारण दुर्घटना भएको हुनसक्छ। ट्राफिक प्रमुख जोशीले बसका सबै स्टाफ फरार रहेकाले उनीहरुको खोजी भइरहेको बताए।

