

झापा- झापाको कन्काई नगरपालिकामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
गएराति करिब ९ः१० बजे कन्काई–३ नयाँ बस्तीस्थित भित्री सडकखण्डमा सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्रदेश–१–०२–०५८प–५०६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश–१–०१–०१५प–४२१० नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए ।

दुर्घटनामा ५०६३ नम्बरको मोटरसाइकल चालक कन्काई–३ का ३३ वर्षीय दिपक सिटौला गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएकामा डाक्टरले बाटैमा मृत घोषित गरेका थिए ।
घटनापछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षक सुबास ढुंगानाको कमाण्डमा टोली खटिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न ४२१० नम्बरको मोटरसाइकल र त्यसका चालक कन्काई–६ का २३ वर्षीय नितेश बस्नेत तथा पछाडि सवार बाह्रदशी–७ सुन्दरटोलका २१ वर्षीय उत्सव बस्नेतलाई नियन्त्रणमा लिएको जनाएको छ ।



