

झापा- अस्पताल पुग्न कठिन हुने ग्रामीण बस्तीका सर्वसाधारण लाई लक्षित गर्दै कोशी प्रदेश सरकारले स्वास्थ्य सेवा घरदैलोमै पुर्याउने नयाँ अभ्यास सुरु गरेको छ। प्रदेश सरकारले पहिलोपटक सञ्चालनमा ल्याएको ‘कोशी घुम्ती अस्पताल’ झापाको कमल गाउँपालिकाबाट औपचारिक रूपमा शुक्रबार यात्रामा निस्किएको हो।

ठूलो बसलाई नै चलायमान अस्पतालमा रूपान्तरण गरी तयार गरिएको यो सेवा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे।
बसभित्र रेडियोलोजी सेवा, मुटुको एक्स–रे, ब्लड टेस्ट तथा रगतको नमुना सङ्कलन र परीक्षण गर्न सकिने अत्याधुनिक उपकरण जडान गरिएको छ, जसले प्राथमिक स्वास्थ्य सेवामात्र होइन, आधारभूत जाँचसमेत सम्भव बनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार यो घुम्ती अस्पताल नियमित उपचारका साथै आकस्मिक अवस्था र महामारी फैलिँदा तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न विशेष उपयोगी हुनेछ। मुख्यमन्त्री कार्कीले पनि गाउँ–गाउँमा सहज पहुँच पुर्याउने गरी यो सेवालाई क्रमशः विस्तार गरिने बताए । ुस्वास्थ्य सेवा मानिसको पहुँचमा पुग्नुपर्छ भन्ने अवधारणाको मूर्त रूप यही हो,ु उनले भने।
नेपालमै पहिलो र नमुनायोग्य पहलका रूपमा चर्चा पाएको यो घुम्ती अस्पताललाई थप परिस्कृत गर्दै आम नागरिकसम्म प्रभावकारी रूपमा पुर्याउने प्रदेश सरकारको योजना रहेको छ। स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष रूपमा देखिने र अनुभूत हुने काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार करिब ८० लाख रुपैयाँ खर्चेर बसलाई अस्पतालमा रूपान्तरण गरिएको हो। घुम्ती अस्पतालको शुभारम्भसँगै कमल गाउँपालिकामा स्वास्थ्य निर्देशनालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ।

