Aamsanchar

अभिनेत्री वर्षा राउतले हिन्दी चलचित्रमा डेब्यु गर्ने

Author Image
सोमवार, पौष २८, २०८२

काठमाडौं – अभिनेत्री वर्षा राउतले हिन्दी चलचित्रमा डेब्यु गर्ने भएकी छन् । वर्षाले हिन्दी कथानक चलचित्र ‘रिमझिम गिरे सावन’मा मुख्य भूमिकाका लागि निर्माण पक्षसँग सम्झौता गरेकी छन् ।

‘रिमझिम गिरे सावन’मा यस चलचित्रलाई बंगाली चलचित्रका निर्देशक अर्नब पलले निर्देशन गर्नेछन् । यसअघि उनले ‘तान्त्रिक’, ‘मेघमल्लार’ लगायत चलचित्र निर्देशन गरेका छन् । उनले ‘वृष्टि तोमाके दिलाम’बाट नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड पाएका थिए ।

यस चलचित्रमा बलिउडका स्थापित कलाकारहरू सुब्रत दत्त, राजेश शर्मा, आशिष विद्यार्थी र यशपाल शर्माको मुख्य भूमिका रहनेछ । रिमझिमकी दिदी ‘रुन्झुन’को भूमिकामा कोलकाताकी कलाकार सुस्मिता बसुमता देखिनेछिन् भने ‘सावन’को भूमिकाका लागि एक चर्चित बलिउड अभिनेताको खोजी भइरहेको निर्माण पक्षले जनाएको प्रेस नोटमा उल्लेख छ ।

कथावस्तु र पृष्ठभूमि यो चलचित्र उत्तरी सिक्किमको लाचुङको रमणीय पहाडी भूभागमा आधारित एक सोसल ड्रामा हो । नेपाली समुदायको परिवेश समेटिएको यस चलचित्रले मृत्युदण्डको सजाय पाएकी एक विवाहित महिला तथा एक सन्तानकी आमा ‘रिमझिम क्षेत्री’को संघर्षपूर्ण कथालाई चित्रण गर्नेछ । जसमा रिमझिमको भूमिकामा राउतले अभिनय गर्नेछिन् ।

‘रिमझिम गिरे सावन’ले प्रणालीगत भ्रष्टाचार, न्याय र मर्यादाका लागि एक महिलाले गर्ने भावनात्मक र साहसी संघर्षलाई पर्दामा उतार्ने निर्देशक अर्नब पलले बताएका छन् ।

“मैले खोजिरहेको र मेरो अभिनय क्षमतालाई चुनौती दिने खालको भूमिका पाएकी छु । हिउँले भरिएको कठिन भूगोलमा छायांकन गर्नु चुनौतीपूर्ण भए पनि यो मेरा लागि सिक्ने र बढ्ने अवसर हो,” वर्षाले भनिन्, “भारतमा ख्याति कमाएको टिमको चलचित्र र बलिउड कलाकारहरूसँग काम गर्न पाउनु मेरो लागि गर्वको कुरा हो ।”

हिन्दी बोल्ने तर नेपाली लवजमा हुनुपर्ने क्यारेक्टर चाहिएकाले नेपाली कलाकार लिएको निर्देशकको भनाइ छ । उनले वर्षालाई मनीषा कोइरालापछिको हिन्दी सिनेमामा सशक्त नेतृत्वदायी भूमिका निभाउने नेपाली अभिनेत्रीका रूपमा चित्रण गरे ।

चलचित्रको पटकथा लेखक राकेश कुमार त्रिपाठीले तयार पारेका छन् ।

Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर