Aamsanchar

झापाबाट ओलीको कडा सन्देश : ‘यात्रीले जहाज उडाउँदा दुर्घटना निश्चित’

Author Image
बिहिवार, माघ २२, २०८२

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुभव र जिम्मेवारीबिनै मुलुक हाँक्ने आकांक्षालाई जोखिमपूर्ण करार गर्दै त्यसप्रति कडा व्यंग्य गरेका छन्। जहाजको उदाहरण प्रस्तुत गर्दै उनले यात्रुले पाइलट बन्न खोजे दुर्घटना अवश्यंभावी हुने टिप्पणी गरे।

पार्टीको झापा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहतर्फ संकेत गर्दै देश चलाउने विषय खेलाँची नभएको स्पष्ट पारे। प्रधानमन्त्रीको उम्मेदवार भन्दै प्रचारमा उत्रिने प्रवृत्तिप्रति कटाक्ष गर्दै उनले अनुभव, नीति र दृष्टिकोणविनाको नेतृत्वले देशलाई गन्तव्यमा पु¥याउन नसक्ने दाबी गरे।

‘जहाजमा यात्रु बसेको मान्छे म जहाज उडाउँछु भनेर पाइलट सिटमा बस्यो भने के होला?’ ओलीले प्रश्न गरे, ‘त्यस्तो जहाजमा कोही होसियार मान्छे चढ्ला त? झुक्किएर चढे पनि सुरक्षित रहन्छ त?’ अहिलेको समय भावनामा होइन, विवेकमा आधारित निर्णय गर्ने समय भएको उनको भनाइ थियो।

अध्यक्ष ओलीले निर्वाचन दुई चरणमा गर्ने प्रस्तावप्रति पनि कडा आपत्ति जनाए। हिउँदमा हिमालमा हिउँ पर्ने स्वाभाविक विषयलाई बहाना बनाएर निर्वाचन सार्ने वा विभाजन गर्ने सोच अस्वीकार्य भएको उनले बताए। ‘हिउँदमा चिसो हुन्छ भन्ने कुरा त हिजोआज जन्मेका बच्चालाई पनि थाहा हुन्छ,’ भन्दै उनले निर्वाचन मिति तय गर्दा सामान्य समझदारीसमेत नदेखाइएको आरोप लगाए।

निर्वाचन प्रक्रियाप्रति बोल्दै ओलीले शतप्रतिशत निष्पक्षता, भयमुक्त मतदान र पारदर्शितामा जोड दिए। मतपेटिका एक क्षण पनि पार्टीका प्रतिनिधिको निगरानीबिनै नछोडिनुपर्ने उल्लेख गर्दै उनले कार्यकर्तालाई चनाखो रहन आग्रह गरे।

आफ्नो पार्टीप्रति पूर्ण विश्वास व्यक्त गर्दै ओलीले एमालेले निर्वाचन शानदार ढंगले जित्ने दाबीसमेत गरे। उनले कार्यकर्तालाई उच्च मनोबलका साथ जनतामाझ जान निर्देशन दिँदै ‘फिरंगी सोच र भ्रम फैलाउने तत्व’प्रति सचेत रहन चेतावनी दिए। एमालेले गरेका विकास, सुशासन र जनचेतनाका कामलाई मतदातासामु प्रभावकारी रूपमा प्रस्तुत गर्न उनले आग्रह गरे।

कार्यक्रममा पार्टी सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री अग्नी खरेललगायत नेताहरूले पनि आगामी निर्वाचनलाई केन्द्रमा राखेर संगठन सशक्त बनाउँदै जनसम्पर्कमा सक्रिय हुन कार्यकर्तालाई आह्वान गरे।

Views: 72

प्रतिक्रिया (०)