

काठमाडौं- भारत झारखण्डको राँची निवासी करिब ७ वर्षीय बालक ईशांक सिंहले श्रीलंकादेखि भारतसम्म पौडिएर रेकर्ड राखेका छन् । २९ किलोमिटरको दुरी उनले ९ घण्टा ५० मिनेटमा पार गरेका थिए । उनी पौडिँदै श्रीलंकाको तलाईमन्नारदेखि भारतको धनुषकोडीसम्म पुगेका थिए ।
यो दुरी पार गर्ने उनी विश्वकै सबैभन्दा कम उमेरका पौडीबाज भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यस असाधारण उपलब्धिका लागि युनिभर्सल रेकर्ड्स फोरम (यूआरएफ)ले सिंहलाई कीर्तिमान कायम गरेको प्रमाणपत्र प्रदान गरेको छ । ईशांकअघि यो कीर्तिमान तमिलनाडुका जय जसवन्तका नाममा थियो । उनले सन् २०१९ मा १० वर्षको उमेरमा श्रीलंकाको तलाईमन्नारदेखि भारतको धनुषकोडीसम्मको दूरी १० घण्टा ३० मिनेटमा पूरा गरेका थिए ।

राँचीको डोरन्डास्थित जवाहर विद्या मन्दिर श्यामली विद्यालयमा कक्षा ३ मा अध्ययनरत ईशांकले यो लक्ष्य हासिल गर्न धुर्वा बाँधमा दैनिक ४–५ घण्टा कडा अभ्यास गरेका थिए । उनले आफ्ना प्रशिक्षक अमन जयसवाल र बजरंग कुमारको मार्गदर्शनमा विशेष प्रशिक्षण प्राप्त गरी यो सफलता हासिल गरेका हुन् । उनी पौडिरहँदा अघिपछि डुंगामार्फत् पछ्याइएको थियो ।
राँचीका सांसद तथा केन्द्रीय रक्षा राज्यमन्त्री संजय सेठले सामाजिक सञ्जालमार्फत ईशांक सिंहलाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘राँचीको बच्चाको कमाल १ राँचीका बालक पौडीबाज ईशांक सिंहले २९ किलोमिटर लामो पाक जलडमरूमध्य पार गर्दै विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । यो भारतका लागि पनि स्वर्णिम उपलब्धि हो । उनले केवल ९ घण्टा ५० मिनेटमा तलाईमन्नार (श्रीलंका) देखि धनुषकोडी (भारत)सम्मको यात्रा पौडिएर पूरा गरे र यस्तो गर्ने विश्वकै सबैभन्दा कम उमेरका पौडीबाज बने ।’



