Aamsanchar

देशभरका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर खाली गराउने अभियान सुरु गरेपछि धरानमा प्रदर्शन

Author Image
शनिवार, वैशाख १९, २०८३

सुनसरी – सरकारले देशभरका सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर खाली गराउने अभियान सुरु गरेपछि सुनसरीको धरान उपमहानगरपालिकामा सुकुम्बासीहरूले प्रदर्शन गरेका छन् । आफ्ना बासस्थान जोगाउन माग गर्दै हजारौँ सुकुम्बासीहरू सडकमा उत्रिएपछि धरानको मुख्य बजार क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।

लगििप्रदर्शनकारीहरू छाता चोकमा भेला भई सरकारविरुद्ध चर्का नाराबाजी गर्दै विरोध जनाएका थिए । विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर उत्रिएका उनीहरूले ‘बालेन तेरो पाराले, दुःख पाए साराले’, ‘संविधान अनुसार सबैलाई बाँच्न दे’, ‘राज्य आतंक बन्द गर’ जस्ता नारा लगाएका थिए ।
प्रदर्शनमा सहभागीहरूले आफूहरूलाई उचित विकल्प नदिई बल प्रयोग गरेर बस्ती हटाउने कार्य अन्यायपूर्ण भएको बताएका छन् । उनीहरूले लामो समयदेखि बसोबास गर्दै आएको स्थानबाट विस्थापित गर्न खोज्नु मानव अधिकारको उल्लंघन भएको भन्दै तत्काल यस्तो अभियान रोक्न सरकारसँग माग गरेका छन् ।

 

लगििनेपाल बसोबास बस्ती संरक्षण समाज धरानका अध्यक्ष सुवास थुलुङ राईको नेतृत्वमा आयोजना गरिएको उक्त आन्दोलनमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको समेत सहभागिता देखिएको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेताहरूले सुकुम्बासीहरूको मागप्रति समर्थन जनाउँदै प्रदर्शनमा साथ दिएका थिए ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले सुकुम्बासीहरूमाथि भइरहेको ‘राज्य आतंक’ तत्काल बन्द गर्न माग गरे । उनले संविधानले प्रत्येक नागरिकलाई बासस्थानको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै सुकुम्बासीहरूलाई वैकल्पिक व्यवस्था नगरी हटाउने प्रयास स्वीकार्य नहुने बताए । ‘हामीलाई बसोबासको अधिकार चाहिन्छ, बल प्रयोग होइन,’ अध्यक्ष राईले भने, ‘यदि सरकार आफ्नो निर्णयबाट पछि नहटे कडा आन्दोलनमा उत्रन बाध्य हुनेछौँ ।’

 

प्रदर्शनमा धरानका करिब १० हजारभन्दा बढी सुकुम्बासीहरूको सहभागिता रहेको थियो । उनीहरू सडकमा उत्रिएपछि केही समय यातायात समेत प्रभावित भएको थियो भने सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । धरानमा मात्रै करिब ३० हजारभन्दा बढी सुकुम्बासीहरूको बसोबास रहेको अनुमान गरिएको छ । तीमध्ये अधिकांशले वर्षौदेखि सार्वजनिक तथा ऐलानी जग्गामा बसोबास गर्दै आएका छन् ।

लगििसरकारले भने सार्वजनिक जग्गा अतिक्रमण हटाउने नीति अन्तर्गत देशभरका सुकुम्बासी बस्तीहरू खाली गराउने अभियान सञ्चालन गर्दै आएको छ । तर स्थानीय तहमा यसको कार्यान्वयन गर्दा उचित पुनःस्थापना र व्यवस्थापनको अभाव देखिएको भन्दै आलोचना बढ्दै गएको छ । धरानमा भएको पछिल्लो प्रदर्शनले सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक रहेको स्पष्ट संकेत गरेको छ । सरोकारवाला पक्षहरूबीच संवाद र सहमति बिना समस्या झन् जटिल बन्ने देखिएको स्थानीयहरूले बताएका छन् । धरानका कार्यबाहक मेयर अइन्द्रबिक्रम बेघाले सुकुम्बासीका घरमा डोजर नचलाउने र घरवार बिहिन बनाउन नदिने अवस्थाको आश्वासन दिएका छन् ।

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर