Aamsanchar

गुडिरहेको विमानको आपत्कालीन ढोका खोलेर यात्रुले बाहिर हामफालेपछि…

Author Image
आइतवार, वैशाख २०, २०८३

काठमाडौं – भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान एक यात्रुले गुडिरहेको विमानको आपत्कालीन ढोका अचानक खोलेर बाहिर हामफालेपछि त्रास फैलिएको छ ।

साउदी अरेबियाको शारजाहबाट चेन्नई आइपुगेको एयर अरेबियाको उक्त विमानमा २३१ यात्रु सवार थिए । ती व्यक्तिको यस्तो हर्कतका कारण विमानमा सवार अरू यात्रुको ज्यान जोखिममा परेको थियो । सुरक्षाकर्मीले तत्कालै स्थिति नियन्त्रणमा लिएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको थियो ।

यो घटना विमान अवतरणपछि मुख्य धावनमार्गबाट ट्याक्सीवेतर्फ ढिलो गतिमा गुडिरहेका बेला भएको हो । ३४ वर्षीय एक पुरुष यात्रुले आपत्कालीन ढोका खोलेर बाहिर हामफालेका थिए ।

यो घटनाले विमानभित्र भागदौड मच्चिनुका साथै सुरक्षा एजेन्सीमा हलचल पैदा गराएको थियो । पाइलटले तुरुन्तै ‘इमर्जेन्सी ब्रेक’ लगाएर विमान रोके र ग्राउन्ड सुरक्षा टोलीलाई ‘अलर्ट’ गराएका थिए ।

यात्राका क्रममा ती यात्रुको स्वास्थ्य अवस्था निकै बिग्रिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

विमानस्थल अधिकारीका अनुसार, ती यात्रुले विमानभित्रै छटपटी भएको र बान्ता आएको गुनासो गरेका थिए । ढोकाबाट हामफाल्नुअघि उनले विमानभित्र दुईपटक बान्ता गरेका थिए । अत्यधिक छटपटी र खराब स्वास्थ्य अवस्थाकै कारण उनले यस्तो कदम चालेको अनुमान गरिएको छ । पाइलटको सूचना पाउनेबित्तिकै केन्द्रीय औद्योगिक सुरक्षा बलका जवान विमान रोकिएको स्थानमा पुगेमा थिए । अत्याधुनिक हतियारसहितका सुरक्षाकर्मी र बम डिस्पोजल टोली पनि तुरुन्तै विमाननजिक पुगेको थियो ।

सुरक्षाकर्मीले ती यात्रुलाई तत्काल नियन्त्रणमा लिए । पाइलटले यो घटनाबारे औपचारिक उजुरी दर्ता गराएपछि यात्रुलाई थप अनुसन्धानका निम्ति प्रहरीको जिम्मा लगाइएको छ ।यो घटनाका कारण चेन्नई विमानस्थलको सामान्य कामकाज केही समयका निम्ति प्रभावित भएको थियो । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अधिकारीहरूले बिहान ३ः२३ देखि ४ः२३ बजेसम्म मुख्य धावनमार्ग पूर्ण रूपमा बन्द गरेका थिए । उक्त अवधिमा अवतरण गर्नुपर्ने अरू विमानलाई दोस्रो धावनमार्गतर्फ ‘डाइभर्ट’ गरिएको थियो ।चेन्नई विमानस्थलका एक वरिष्ठ अधिकारीले यो घटनामा विमानमा कुनै क्षति नपुगेको र अरू सबै यात्रु सुरक्षित रहेका जानकारी गराएका छन् ।

पक्राउ परेका यात्रुको पूर्ण परिचय आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन । तर, उनी तमिलनाडुको पुदुक्कोट्टई जिल्लाका स्थायी बासिन्दा भएको जनाइएको छ । प्रहरी र सुरक्षा एजेन्सीले उडान सुरक्षा नियम उल्लंघनसँग सम्बन्धित यो गम्भीर घटनाबारे सूक्ष्म अनुसन्धान गरिरहेका छन् । अधिकारीहरूले उनलाई सोधपुछ गर्नुका साथै मानसिक अवस्थाको परीक्षण गर्न चिकित्सकको टोली समेत खटाएका छन् ।

 

Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर