

काठमाण्डौ – वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बीपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले हिजो मंगलबारदेखि राजमार्गमा रातको समयमा आवागमन बन्द गरेको छ ।
समितिले जोखिमका कारण बेलुका ५ देखि बिहान ५ बजेसम्म आवागमन बन्द गराएको हो । पानी पर्दा रोशी खोलामा बाढी आउने र खोलाको सतह बढेर ‘डाइभर्सन’ बगाउँदा सडक अवरुद्ध हुने गरेकाले रातको समयमा अनिश्चितकालीन राजमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार मौसमी अवस्थाअनुसार पुनः राजमार्गमा आवागमन नियमितबारे सूचनामार्फत जानकारी गराइनेछ । काभ्रेको नमोबुद्ध नगरपालिकाको चौकी डाँडादेखि सिन्धुलीको नेपालथोकसम्मका विभिन्न ठाउँमा अस्थायी डाइभर्सन बगाउँदा पटक पटक सडक अवरुद्ध हुँदै आएको छ ।

विगतमा चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किलोमिटर सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन सञ्चालन गरिएको थियो । अहिले त्यस क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।



