Aamsanchar

भारतले सुन खरिद घटाए विश्व बजारमा के होला ? मोदीको अपिलपछि चासो

Author Image
मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार हैदराबादमा आयोजित सभालाई सम्बोधन गर्दै देशवासीहरूलाई एक वर्षसम्म सुन नकिन्न र विदेश भ्रमण नगर्न अपिल गरे । पश्चिम एसियामा जारी तनावका बीच देशको अर्थतन्त्रलाई मजबुत बनाइराख्ने उद्देश्यले उनले यस्तो अपिल गरेका हुन् । मोदीको अपिलको मुख्य उद्देश्य विदेशी मुद्रा भण्डारको संरक्षण गर्नु रहेको बताइएको छ ।

यसका साथै उनले पेट्रोल र डिजेलको प्रयोग पनि कम गर्न आग्रह गरे । पश्चिम एसियाको संकटका कारण विश्वव्यापी आपूर्ति शृङ्खला प्रभावित भएको छ ।

कच्चा तेल र सुन आयात गर्न भारतले ठूलो मात्रामा विदेशी मुद्रा खर्च गरिरहेको छ । भारतले सुन खरिद उल्लेख्य रूपमा घटाउने वा रोक्ने निर्णय गरे विश्व बजारमा ठूलो प्रभाव पार्ने विज्ञहरू बताउँछन् । भारत विश्वको कुल सुन मागको करिब २० देखि २५ प्रतिशत हिस्सा ओगट्ने ठूला उपभोक्तामध्ये एक हो ।

वार्षिक करिब ८०० टन सुनको भारतीय माग घटे अन्तर्राष्ट्रिय ‘स्पट’ मूल्यमा उल्लेखनीय गिरावट आउन सक्ने विज्ञहरू बताउँछन् । भारतीय माग कमजोर हुँदा विश्व बजारले अतिरिक्त आपूर्तिको दबाब सामना गर्नुपर्ने हुन्छ ।

विश्वव्यापी मूल्य घटे पनि कृत्रिम अभाव र उच्च ‘प्रिमियम’का कारण भारतमा सुनको मूल्य बढ्न सक्ने पनि औँल्याइएको छ । सुन आयात घटे भारतमा ४६० देखि ४७० अर्ब वैदेशिक मुद्रा बचत हुने अनुमान छ ।

भारतीयहरूले परम्परागत रूपमा सुनलाई सुरक्षित लगानीका रूपमा हेर्ने गरेका छन् । सुन खरिद निरुत्साहित हुँदा जनताको पैसा बैंक मुद्दती खाता, सेयर बजार वा म्युचुअल फण्डजस्ता वित्तीय सम्पत्तिमा प्रवाह हुन सक्ने अनुमान छ । यसले बैंकिङ प्रणालीमा तरलता बढाउने र उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहमार्फत आर्थिक गतिविधि विस्तार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

 

Views: 8

प्रतिक्रिया (०)

सम्बन्धित खबर