
विराटनगर – मोरङको उर्लाबारीमा चार दिनदेखि हराइरहेकी एक जना महिलाको शव मंगलबार बिहान बक्राहा खोला किनारको काँसघारीमा भेटिएको छ । उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कन्दङ्वा लिम्बूलाई मृत अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले बताए ।
उनका अनुसार उर्लाबारी–१ स्थित बक्राहा खोलाको लन्डन ब्रिज नजिक काँसघारीमा शव देखेपछि स्थानीयले बिहान करिब ७ः४० बजे प्रहरीलाई खबर गरेका थिए । राँगा चराउन गएका बेला स्थानीयले खोला किनारमा शव देखेपछि घटना सार्वजनिक भएको हो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर नवीन वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । डीएसपी श्रेष्ठका अनुसार शव सुन्निएको र घोप्टो परेको अवस्थामा फेला परेको हो । प्रारम्भिक रूपमा शवको सनाखत उनले लगाएको कपडाको आधारमा श्रीमान दिलबहादुर लिम्बूले गरेका हुन् ।
सविता उर्लाबारीमै सिलाइकटाइको काम गर्दै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनी गत जेठ ९ गते शनिबार बिहान करिब ९ बजेतिर परिवारलाई कुनै जानकारी नदिई घरबाट निस्किएकी थिइन् । त्यसयता परिवारसँग सम्पर्कविहीन रहेकी उनको खोजी भइरहेको थियो ।

घटनाका बारेमा मृतकका माइती पक्षलाई पनि जानकारी गराइएको प्रहरीले जनाएको छ । तेह्रथुममा रहेका माइती पक्ष घटनास्थलतर्फ आउँदै रहेकाले उनीहरू नआउँदासम्म शव नचलाउन आग्रह गरिएको छ ।
माइती पक्ष आइपुगेपछि मात्रै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ । डीएसपी श्रेष्ठका अनुसार हालसम्म महिलाको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको प्रकृति, शवको अवस्था र अन्य पक्षका बारेमा प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ । घटनास्थल उर्लाबारी चोकबाट करिब ७ किलोमिटर उत्तर–पश्चिममा पर्छ । विस्तृतमा अनुसन्धान गरिएपछि मात्रै मृत्युको कारण यकिन हुने प्रहरीको भनाइ छ ।


