Aamsanchar

सोह्र श्राद्ध गर्न पुरोहितको अभाव

Author Image
बिहिवार, असोज ६, २०७३

दमक।

puret

झापामा सोह्रश्राद्धमा पुरोहितको अभाव भएको छ । पुरोहितको अग्रिम ‘बुकिङ’ नगरेकाहरुलाई श्राद्ध गर्नका लागि समस्या हुने भएको पाइएको छ । दिवंगत भएका आफ्ना बुबा–आमाको नाममा सोह्रश्राद्धमा एकपटक तिथि अनुसार अनिवार्य श्राद्ध गर्ने हिन्दू परम्परा र संस्कार रहेको छ ।

झापा लखनपुरका अर्जुन कार्कीका अनुसार एकजना पुरोहितले नै तीन ठाँउसम्म एकैदिन श्राद्धका लागि बोलिसकेको पाइएकाले आफूले अहिलेसम्म पुरोहित नपाउँदा समस्या भएको छ । उनका अनुसार पहिला नै सबै पुरोहितहरु ‘बुकिङ’ भइसक्ने भएकाले अहिले खोज्दा पुरोहित नपाएको हो । एकजना पुरोहितले एउटाभन्दा बढी श्राद्ध एकैदिन गराउनु नहुने कतिपयले बताएपनि पुरोहितको अभावका कारण एकैजनाले कम्तिमा पनि ३ वटासम्म श्राद्ध गराउन थालेका छन् ।

पुराना संस्कार र संस्कृति हराउँदै गएपछि पुरोहित पेशा गर्नेहरु पनि पलायन बन्दै गएका कारण गाउँघरमा समेत पुरोहितको समस्या सिर्जना हुन थालेको छ ।
झापा महाभाराका कृष्णप्रसाद अधिकारीका अनुसार गाउँघरमा पुरोहितको दक्षिणा कम हुने भएकाले गाउँघरका पुरोहितहरु शहरबजारमा पस्न थालेका छन् । गाउँघरमा पुरोहितलाई एउटा श्राद्ध गरेको दुइदेखि तीन सय रुपैयाँसम्म दिइने गरेपनि शहरबजारमा कम्तिमा पनि १ हजार रुपैयाँ हुने भएपछि गाउँमा पुरोहित अभाव खड्किएको बताइन्छ ।
लामो समयदेखि पुरोहित तथा कर्मकाण्ड पेशामा संलग्न रहँदै आएका गणेश रिजालका अनुसार सोह्रश्राद्धमा धेरैतिरबाट बोलावट हुने गरेको छ । आफूले नियमित रुपमा पूजाआजा र बिभिन्न कर्मकाण्डहरु गराउँदै आएका घरहरुमा अनिवार्य रुपमा जानैपर्ने बाध्यता रहने भएकाले बोलाएका जति सबै ठाउँमा जान नसकिने उनले बताए । आफूहरुको पेशा र संस्कारले समाजका केही ब्यक्तिहरुले नकारात्मक तरिकाले हेर्ने भएपनि उनीहरुलाई नै आफूहरु चाहिंने गरेको रिजालको भनाइरहेको छ ।
संस्कृत शिक्षा र कर्मकाण्डको संरक्षणका लागि झापाको लखनपुर– ५ मा सञ्चालित रहेको सिद्धेश्वर गुरुकुलका अध्यक्ष जयनारायण अधिकारीका अनुसार १४ देखि १५ बर्ष उमेरसमूहका संस्कृत शिक्षा पढिरहेका साना बटुकहरुको समेत कर्मकाण्ड तथा श्राद्धका लागि माग हुन थालेको छ । कहीं पुरोहित नपाएपछि उनीहरुबाट भए पनि संस्कार अनुसार श्राद्ध गराउन माग हुने गरेको पाइएको उनले बताए ।
पण्डितहरुका अनुसार चान्द्रमानको पात्रोअनुसार वर्षमा चौबिसपक्ष रहेका हुन्छन् । यी नै चौबिसपक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । एकपक्षमा पन्ध्र तिथि हुने भएपनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औंशीसम्मका वा जमरे औंशीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिएको हो । यसलाई पार्वणश्राद्ध पनि भनिन्छ ।
धर्मशास्त्र अनुसार प्रत्येक मान्छेलाई तीन किसिमका ऋण लागेको हुन्छ । पहिलो ऋण हो देव ऋण, दोस्रो ऋषि ऋण र तेस्रो पितृ ऋणबाट छुटकारा पाउनका लागि आमाबुबा बाचुञ्जेल उनीहरुको सेवा पालनपोषण गर्ने र मृत्युपश्चात समेत उनीहरुको काजकिरिया गरी प्रत्येकवर्ष पितृपक्षमा उनीहरुको नाममा श्राद्ध गर्नु हाम्रो कर्तव्य हो । पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर