Aamsanchar

नेपालले चीनतर्फको आफ्नो भूमिको सुरक्षा गर्न भारतीय सहयोग भए पनि लिनुपर्छ : पूर्व सांसद गिरी

Author Image
शनिवार, असोज २४, २०७७

काठमाण्डौ – पूर्व सांसद सरिता गिरीले नेपालले चीनतर्फको आफ्नो भूमिको सुरक्षा गर्न नसकेको भन्दै भारतीय सहयोग लिनुपर्ने बताउनुभएको छ । गिरीले आज विज्ञप्तिमार्फत चीनतर्फको आफ्नो भूमि सुरक्षा गर्न सरकार असफल भइसकेको अवस्थामा भारतको सहयोग लिनुपर्ने बताउनुभएको हो । गिरीले चीन सिमानामा रहेका स्तम्भ अनुगमन गर्न गएको नेपाली टोलीलाई चिनियाँ पक्षले नेपालकै भूमिमा पसेर अश्रु ग्यास प्रहार गरेको र नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामा सामान्य घाइते भएको दाबी गर्नुभएको छ ।

यस घटनाबारे सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन गिरीको माग छ । भारतले मिचेको नेपाली भूमिसहित नेपालले नयाँ नक्सा जारी गर्दा गिरीले आपत्ति जनाउनुभएको थियो । देशको हितविरुद्ध अभिव्यक्ति र क्रियाकलाप गरेको भन्दै उहाँलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

गिरीले भन्नुभएको छ, ‘नेपाल सरकारले मुलुकको उत्तरी सिमानाको सुरक्षा गर्न सकी रहेको छैन भन्ने कुरा प्रष्ट हुँदै गइरहेको छ । सगरमाथा माथि पनि चीनले अधिपत्य जमाइसकेको कुरा संचारमाध्यममा आएका छन तर सरकारले यस विषयबारे पनि अहिलेसम्म मौनता धारण गरेको छ । हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडाले पनि देखाइ रहेको छ । यस परिस्थितिमा यदि नेपाल सरकार स्वयं नेपाल चीन बीचको उत्तरी सिमानाको सुरक्षा गर्न सकी रहेको छैन भने सरकार ले १९५० को भारतसंँगको मित्रता र शान्ति सहमति अनुसार भारत सरकारको सहयोग लिइ पनि सिमानाको सुरक्षा गर्न माग गर्दछु ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)