काठमाण्डौ – चीनको चिङ्दाओ सहरले सबै नागरिकको कोरोना भाइरसको परीक्षण गर्ने भएको छ । झण्डै ९० लाख जनसङ्ख्या रहेको चिङ्दाओ सहरले आउँदो पाँच दिनमा सबै नागरिकको कोरोना परीक्षण गर्ने जनाएको हो । विदेशबाट आएर अस्पताला उपचार गराइरहेका १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि चिङ्दाओ सहरले सबै नागरिकको कोरोना परीक्षण गर्ने भएको हो ।
गएको मे महिनामा पनि चीनले कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको वुहान सहरका एक करोड १० लाख नागरिकको कोरोना परीक्षण गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण चीनबाट फैलिन सुरु भए पनि अहिले त्यहाँ सङ्क्रमण नियन्त्रणतर्फ गइसकेको छ । तर विश्वका धेरै जसो देशमा कोरोना भाइरसको महामारी बढिरहेको छ र अझै पनि लकडाउन लगाइएको छ ।
चिनियाँ सामाजिक सञ्जाल साइट उइवोमा पोस्ट गरिएको एक विज्ञप्तिमा चिङ्दाओको नगरपालिका स्वास्थ्य आयोगले सङ्क्रमण देखिएकोमध्ये ६ नयाँ मामिला र ६ स्पर्शोन्मुख ९उनीहरुको सम्पर्कमा आएकाहरु० मामिला रहेको जनाएको छ । ती सबै मामिला एउटै अस्पतालसँग जोडिएको ग्लोबल टाइम्सले भनेको छ । चीनमा अहिलेसम्म ८५ हजार पाँच सय ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा चार हजार ६ सय ३४ जनाको ज्यान गएको छ ।