Aamsanchar

स्वस्थ खानपान र जीवनशैलीले मुटुरोगबाट बच्न सकिन्छ

Author Image
आइतवार, असोज ९, २०७३

काठमाडौँ।

heart (1)

मानिसले स्वस्थ खानपिन गर्ने, व्यायाम गर्ने र आफ्नो जीवनशैलीमा ध्यान दिएमा सम्भावित मुटुरोगबाट बच्न सकिने मुटुरोग विशेषज्ञले बताएका छन् ।
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले विश्व मुटु दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा अस्पतालका मुटुरोग विभाग प्रमुख तथा मुटुरोग विशेषज्ञ प्रा डा यादव भट्टले मद्यपान नगर्ने र दैनिक आचरणमा ध्यान दिने हो भने मुटुसम्बन्धी समस्याबाट बच्न सकिने बताउनुभयो । उपयुक्त उपचार, नियमित औषधि सेवन र स्वस्थ जीवनशैलीले मुटु रोगबाट बच्न सकिने उहाँको भनाइ छ ।

मुटुरोग शल्यचिकित्सक डा ज्योतिन्द्र शर्माले धेरै जनमानसमा मुटुको शल्यक्रिया गरेपछि केही गर्न सकिँदैन भन्ने आशङ्का रहेको बताउँदै शल्यक्रिया गरेका मानिसले पनि अरु सामान्य मानिसजस्तै सजिलै आफ्ना दैनिक क्रियाकलाप गर्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो –“मुटुरोगको शल्यक्रिया गरेपछि नियमित व्यायाम गरिरहनुपर्ने, औषधि नियमित खाइरहनुपर्ने हुन्छ । तर अन्य जीवनयापनका हरेक काम गर्न सकिने भएकाले म रोगी हुँ भन्ने भाव राख्नुपर्दैन ।”

उहाँले सबैखाले मुटुको रोगमा शल्यक्रिया नै गर्नु नपर्ने बताउँदै उहाँले औषधिको प्रयोगबाट निको नहुने रोगलाई मात्र शल्यक्रिया गर्नुपर्ने बताउनुभयो ।  छाती रोग विशेषज्ञ डा जेपी जैसवालले सबैखाले छातीको दुखाइ मुटु रोगको लक्षण नहुने स्पष्ट पार्नुभयो ।

पोषण विज्ञ प्रनिति सिंहले मुटुका रोगीले मात्र होइन अरुले पनि खानपानमा निकै ध्यान दिनुपर्ने बताउनुभयो । खासगरी मुटुरोगीले फलफूल, मौसमी हरियो तरकारीजस्ता रेसादार खानेकुरा खानुपर्ने, जौका खानेकुरा, भटमासजस्ता खानेकुरा खानुपर्ने उहाँको भनाइ छ । खानेकुरा एकैपटक टन्न हुने गरी नखाई थोरैथोरै गर्दै समय समयमा खानुपर्ने पनि उहाँले बताउनुभयो ।

अस्पतालका अध्यक्ष वसन्त चौधरीले अस्पतालले आफ्नो सेवाको विस्तार गर्ने क्रममा शल्यक्रिया तथा उपचारलाई अन्तर्राष्ट्रियस्तरको बनाएको बताउनुभयो । उहाँले विदेशमा उपलब्ध साधनस्रोत नेपालमै उपलब्ध गराउने उद्देश्यले आफ्नै देशमा ल्याउन सकेको बताउनुभयो ।

नर्भिकको सेवा अब पोखरा र विराटनगरमा पनि विस्तार गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।  विश्व मुटु महासङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारिख (असोज १३) गतेलाई विश्व मुटु दिवसका रुपमा विश्वभर मनाउने गरिन्छ । यस वर्षको नारा ‘आफ्नो मुटुलाई शक्ति दिऊँ’ भन्ने रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर