Aamsanchar

कोरोनाबाट जोगिन यस बर्ष बेंसी नझर्ने मुस्ताङीहरुको निधो

Author Image
शनिवार, कार्तिक १५, २०७७

फायल तस्वीर

म्याग्दी । हिउँदका चार महिना जाडो छल्न बेंसी झर्ने चलनलाई यस वर्ष मुस्ताङीले निरन्तरता नदिने भएका छन् । विगतका वर्षमा उपल्लो मुस्ताङबाट कात्तिक लागेपछि पोखरा झर्ने गरेका उनीहरू कोरोना महामारीका कारण उतै बस्ने भएका हुन् ।

गण्डकी प्रदेशमा मुस्ताङ ‘ग्रिन जोन’ मा रहेको एक मात्रै जिल्ला हो । यहाँ हालसम्म दुई जनामा संक्रमण पुष्टि भएकोमा एक जना निको भइसकेका छन् । कास्की प्रदेशभरिकै उच्च जोखिम रहेको जिल्ला हो । बालबालिकालाई पढाउन पोखरामा सञ्चालन गरिँदै आएको हिउँदे विद्यालय पनि यस वर्ष नचल्ने भएको छ । लोमान्थाङ गाउँपालिका–५ धेकाका कर्मा छिरिङ लोवा यो वर्ष जाडो खपेरै भए पनि घरमै बस्ने बताउँछन् । ‘तल कोरोनाको महामारी छ, बरु यहीं सुरक्षित छौं,’ उनले भने ।

उनका अनुसार अघिल्लो वर्ष बेंसी झर्दा फर्कने बेला बेमौसमी हिमपात भएपछि चैतसम्म पोखरामै रोकिनुपरेको थियो । त्यतिबेलै लकडाउनले थप तीन महिना थुनिए । भन्छन्, ‘अब सहज नहुँदासम्म बेंसी झर्दैनौं ।’

हिउँदमा हिमपात हुँदा अति चिसोबाट वृद्धवृद्धा, बालबालिका बढी प्रभावित हुन्छन् । लोमान्थाङ र लो घ्याकर दामोदरकुण्ड गाउँपालिकाले हिमपात नहुँदै घरघरमा हिटर बाल्न मिल्ने गरी केन्द्रीय बिजुली जोड्ने तयारी गरेको छ ।

उपल्लो र मध्य मुस्ताङका स्थानीय प्राचीन समयदेखि नै गधा, घोडा धपाउँदै बालबच्चासहित हिउँदमा बेंसीका म्याग्दी, पर्वत, कास्की, तनहुँसमेतका बस्तीमा पुगेर घुम्ती व्यापार गर्थे । मध्य फागुनपछि तिनै गधा, घोडामा खाद्यान्न बोकाएर घर फर्कन्थे । अहिले भने माथिसम्मै मोटरबाटो पुगेको छ । खाद्यान्नको समस्या नहुने भएको छ ।

लो घ्याकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले यो वर्ष कोही नझर्ने र घुम्ती विद्यालय पनि सञ्चालन नहुने बताए । ‘बरु हरेक घरमा हिटर बाल्ने व्यवस्था गर्ने प्रयास गरेका छौं,’ उनले भने, ‘सहरमा घर भएकालाई पनि नझर्न भनेका छौं ।’ उनका अनुसार उपल्लो भेगका मुस्ताङीलाई हिउँदका चार महिना जाडो छल्ने समय मात्र होइन, हिमाली जडीबुटीलाई बेचेर खाद्यान्नको जोहो गर्ने गतिलो अवसर पनि हो । त्यहाँ जौ, उवा, फापर र केही तरकारीबाहेक अन्य खेती हुँदैन । चौंरी र भेडाच्यांग्रा पालेर जीविकोपार्जन गर्दै आएका उनीहरूको जीवन हिउँदमा थप कष्टप्रद हुन्छ ।

मध्य मुस्ताङका बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको मुक्तिनाथ, कागबेनी, तेताङ, चैलेसमेतका बस्तीबाट पनि जाडो छल्न बेंसी छर्ने चलन छ । विश्वकै अग्लो स्थानमा रहेको मानवबस्ती डोल्पाको छर्काभोटका स्थानीयसमेत जाडो छल्न मुस्ताङको बाटो हुँदै बेंसी झर्थे । उपल्लो भेगबाट मात्र नभई मुस्ताङवासी नै अति जरुरी काममा र बिरामी हुँदा मात्रै बेंसी झर्ने भएका छन् ।  कान्तिपुरबाट 

Views: 317

प्रतिक्रिया (०)