ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवि लक्ष्मीप्रसाद देवकोटाले ।
माग्दछ करुणा भाइहरूमा
आई पृथ्वी वारि,
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनको एक भिखारी ?
समाजको छर्लङ्ग चित्रलाई बडो चित्ताकर्षक ढङ्गले पस्कने महाकविका कृती अनि अन्तराष्ट्रिय लेखकहरू सँगै अब्बल ढङ्गले पौँठेजोरी खेल्न सक्ने उनका कृतीहरु कै कारणले गर्दा होला देवकोटालाई कतिले ‘जियोग्राफीक मिस्टेक’ भनेर समेत चित्रण गरेका छन् । स्वर्गभूमि नेपाल अनि नेपालको साहित्य रसका हिरा कृतीका सर्जक देवकोटा सबै नेपाली हृदयमा सदैव चम्किला तारा बनेर विद्यमान छन् । आज तिनै महाकवीको १११औं जन्मजयन्ती ।
आजको दिन नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन हो । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा जन्म भएको हो ।नेपाली साहित्य अनि वाङ्गमयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । वहाँका अमर कृतिहरूः मुनामदन, कुञ्जनी, शकुन्तलाजस्ता कृतीले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।
“क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन”
मुनामदनको यी श्लोक उतिबेला पनि नेपाली समाजमा समानता र विभेद विरोधी समाजिक न्यायको विगुल स्वरूप महाकवि छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छ, उतिबेलाको नेपाली समाजका लागि यो एउटा ठूलो क्रान्ति नै हुनुपर्छ । सायद यही कारणले गर्दा होला उनको लेखनको चर्चा विभिन्न अन्तराष्ट्रिय लेखकहरूले पनि दिल खोलेर गरेका छन् ।
तिन महिनामा शाकुन्तल काव्य लेख्न सक्ने, १० दिनमा सुलोचना लेखेर भ्याउने र एक दिनमा कुञ्जिनी लेखेर भ्याइदिने देवकोटा उनै हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आजकै दिन अर्थात लक्ष्मीपूजा कै दिन जन्म भएको हो ।
“के नेपाल सानो छ र!” भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध त विद्यालय पाठ्यक्रममै पनि हामी मध्ये धेरैले पढेका छौं । निबन्ध स्वरूपमा अझ प्रखर र भरिला अभिव्यक्तिहरू दिनसक्ने महाकविले सत्र वर्षको उमेरमै भारतको पटनाबाट म्याट्रिक पास गरेर त्रिचन्द्र कलेज काठमाण्डौमा कलामा स्नातकोत्तर अध्ययन गर्नुभएको हो । वहाँका मुनामदन, वनकुसुम, प्रमिथस लगायतका कृतिहरू अनि भिखारी, गाइनेको गीत, पागल, पुतली लगायतका कविता संग्रहहरु नेपाली साहित्य अनुरागीका लागि सृजनाको कोशेढुङ्गा साबित भएको छ । वहाँका कृतीमा वेदना र रसिकताको अद्भूत मिश्रण सहितको एउटा सम्मोहन पाइन्छ ।
भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानव अवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।
देवकोटाका जीवनका विभिन्न घटनाक्रमहरू अत्यन्त प्रसिद्ध र अचम्म लाग्दा पनि छन् । विद्यालय जीवनमा आफूले लेखेका कविताहरू साथीहरूलाई सुनाउँदा उनीहरूले त्यो कविता देवकोटाले ने लेखेका हुन भनेर पत्याउँथेनन् । शुरुवातकालिन दिनहरूमा कवि शिरोमणि लेखनाथ पौड्यालका कृतिहरूबाट प्रेरित देवकोटा पछि गएर पश्चिमी सर्जकहरु वर्डस्वर्थ र सेलीका अंग्रेजी सृजनाहरूलाई पनि पढ्न थाले । पढाई का हिसाबमा देवकोटाले आईएससी त्रिचन्द्र कलेज वाट गरेका हुन् भने बिए बिएल चाँहि पटना विश्वविद्यालयबाट गरेका हुन् ।
बर्खामा पानी पर्दा छाताका कारणले कार्यालय ढिला पुगेका देवकोटाले एकदिनभरि नै लगातार छाताका विषयमा भाषण गरिदिएका थिए । दिनै भरि एउटा उदेक लाग्दो विषयमा भएपनि आकर्षक शब्दहरूको माला र बहुआयाम केलाउन सक्ने देवकोटाको कलम र मस्तिष्कमा वास्तवमै लक्ष्मी र सरस्वतीका अवतारकै रुपमा नेपाली बाङ्मयको प्रगतिका लागि आएका हुन् ।
वर्तमान त्रिभूवन विश्वविद्यालयको ब्यवस्थापन अनि बढोत्तरीकालागि पनि महाकवि आफू शिक्षा मन्त्रीहुँदा गरेका दूरगामी कदमहरु प्रशंसनीय छन् ।
चिताग्नि तापी जल डाल्न फाली
संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ
जन्मेँ म यो स्वर्ग विषे पलाएँ
आखिर भै खाक त्यसै बिलाएँ।
वि. सं २०१६ सालमा संसारबाट बिदा भएका यिनै महाकविको आजको यो जन्मजयन्तिमा वहाँप्रति श्रद्धा सुमन । भाषा, साहित्य र हाम्रा मूर्धन्य साहित्यकार तथा श्रष्टाहरू उहाँहरूको सृजनासँगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुन्जेल रहिरहनुहुनेछ । नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस् ।