Aamsanchar

वैदेशिक रोजगारी र अनैतिक सम्बन्धमा लट्ठ हुनेहरु

Author Image
बिहिवार, असोज १३, २०७३

bharat

भरत शिवाकोटी

[हाल प्रवासमा]

 

देशमा रहेको मुख्यत अस्थिर राजनीति र रोजगारीको अभावमा युवा जनशक्ति विदेशिने क्रम हिजो देखि आज सम्म रोकिएको छैन । रोजगारीको सिलसिलामा देश छोडेर विभिन्न देश जाने क्रम कहिले देखि शुरु भयो भन्ने एकिन नभएपनि निक्कै धेरै बर्ष अघिदेखि यसको शुरुवात भएको हो भन्ने अनुमान गर्न गाह्रो छैन । तर शुरुवाती दिनहरुमा अति नै पातलो मात्रामा रोजगारीमा जाने यो संख्या आज त्यसको हजारौं गुणाले वृददी भएको छ। यसरिवृददीहुनुमा मुख्यत बेरोजगार मुख्य कारण रहेको छ भने अन्य अनेकौं कारणहरु रहेका छन | विशेसत देशकोदुइतिहाई भन्दा बढी युवा जनशक्ति देश छोडेर वाहिरिएपछी त्यसले देशमा पार्ने प्रभाव बारेमा पछिल्लो समय बेला बेलामा वहस र छलफल हुँदै आएको छ । तर त्यस्ता बहस र छलफलमा वास्तविक रुपमा उठने गरेका यस क्षेत्रका समस्या र समाधान केवल क्षणिक चर्चाका विषय मात्र बन्न पुगेका छन । यसलाई समाधान गर्नका निमित्त एकमात्र ठोस उपाय भनेको देशमा रोजगारीको सृजना गर्दैविदेशिएको उर्जाशिल युवा जनशक्तिलाई स्वदेश फर्काउनु हो तर यो सत्यतालाई काँही कतैबाट गहन रुपमा लिदैदिर्घकालिन समाधानका निमित्त योजना बनाएर अघि बढेको भने पाइदैन । यसैकारण आज पनि दिनहुँजसो नेपाली युवाहरु अनेकौं समस्याहरुलाई झेल्दै अन्तरास्ट्रिय बजारमा सस्तो मुल्यमा आफ्नो श्रम बेचिरहेका छन,पसिना बगाईरहेका छन।

यहि विदेशिएको जनशक्तिले बगाएको पसिनाबाट आज लाखौंको रेमिटयान्स देशमा भित्रिएको छ र यो नेपाल सरकारको आम्दानीको राम्रो स्रोत समेत बन्न पुगेको छ । अरुको माटोमा पोखेको श्रमले आज धेरै नेपालीले आफ्नो जीवनस्तरमा सुधार ल्याउन सफल भएका छन ।धेरैले आफ्नो परिवारको गार्जो टारेका मात्र छैननकेहि न केहि उन्नति र प्रगति पनि गरेका छन ।आज धेरैले विदेशमा भए रहेका आधुनिक प्रविधिहरुलाई नजिकबाट नियालेका छन, त्यसबारे धेरै थोरै ज्ञान अनि सिप पनि हासिल गरेका छन र त्यसलाई आफ्नो देशमा प्रयोग गर्ने केहि जनशक्ति नेपालमै क्रियासिल भए रहेको पनि कतै न कतै कुनै न कुनै रुपमा देखिदै, सुनिदै आएको छ ।तर देशमा बारम्बार हुनेराजनीतिक अस्थिरताको खेल सँगै राज्यबाट हुनुपर्ने आवश्यक सहयोग र हौसलाको अभावमा केहि गरौं भन्ने सिप र ज्ञान बोकेर विदेशबाट फर्किएको सानो हिस्सा समेत निराशामा रुम्मलिएको तितो सत्य कतै खोज्न गइरहनुपर्दैन ।

वैदेशिक रोजगार तथा यसले सृजना गरेका केहि गहन बिषयहरु पछील्लो समयमा निक्कै डरलाग्दो समस्याका रुपमा देखिन थालेको छ । सामान्यतया सरसर्ती हेर्दा नदेखिने वा गौण देखिने यो समस्या भित्रभित्रै दिनानुदिन बढनु आम वैदेशिक रोजगारिमा रहनेको चिन्ताको बिषय त हो नै सँगै राज्यको समेत चिन्ताको बिषय हो । अहिले एक किसिमले फेसन जस्तो भएको छ वैदेशिक रोजगारि | कुनैपनि काम वा सिप नसिकी जे पनि गर्न तयार हुनेगरि र जसरि पनि वैदेशिक रोजागारीमा छिटो जान चाहने अकांक्षाले एकातिर श्रमीकहरु आँफै समस्यामा फस्ने क्रम जारि छ भने अर्कोतिर मेनपावर मार्फत कालो धन्दा गर्नेहरु फस्टाइरहेका छन |रोजगारीमा जाने व्याक्तिहरुलेआफु जाने देशको कानुनको बारेमा,सम्बन्धित कामको न्युनतम ज्ञानतथा अन्य आवश्यक जानकारीलिनेकुरामा पटक्कै हेक्का राखेको पाइदैन भने श्रमीक पठाउने सम्बन्धित निकायले अनिवार्य रुपमा गर्नुपर्ने यो कार्य धेरै हदसम्म नगरेको पाइन्छ |जसको अभावमारोजगारी गर्न गएको सम्बन्धित देशमा तोकिए अनुसारको पारिश्रमिक नपाउने,भाषा नबुझ्ने,तोकिए अनुसारको काम तथा कम्पनि नपाउने,कठिन काममा ज्यानको  जोखीम मोल्नपर्ने, सम्झौता अनुसारको अन्य सेवा सुविधा नपाउने,अनावश्यक विभिन्न किसिमकासमस्याहरु झेल्नुपर्ने आदिका कारणवैदेशिक रोजगारीमा आउनेहरुले विदेशी भूमिमा व्यहोरेका कस्टहरु र भोगेका दु:खहरु उल्लेख्य रहेका छन | यस्तै र अरु धेरै समस्याहरुका कारण आफु र परिवारको सपना बोकेर वैदेशिक रोजगारीमा आएका नेपालीहरु मध्ये कोहि न कोहि दिनहुँजसो बन्द वाकसमा फिर्ता भएका कारुणीक दृश्यहरु हाम्रै अगाडी छन सँगै विदेशमा नै जेलमा रहेका,बिना काम र तलव अलपत्र परेका,  काम गर्ने ठाउँमा नै कैदी भएका,शोषण गरिएका लगायतका नेपालीहरु पनि प्रशस्त रहेका छन |यसतर्फ सरोकारवालाले केहि हदसम्म काम गर्न खोजे पनि उल्लेख्य सफल हुन सकेको भने देखिदैन |

अर्कोतिर आजभोली बढ्दै गएको अर्को चिन्ताको विषय वैदेशिक रोजगारीमा रहेका अधिकाङशले आफ्ना परिवार गाँउबाट स्थानान्तरण गर्दै शहरका कोठाहरुमा भाडामा राख्ने चलन हो । गाँउको हातमुख जोर्न पुग्ने भएको उत्पादनशिल जमिन बाँझै छोडेर अथवा अरु कसैलाई रुगांलु राखेर वा बिरुवा रोपेर अथवा जमिनको उपयोगिता बिर्सेर सामान्य परिश्रमलाई पहाड ठान्दै शहर केन्द्रित भएर बस्दा सुख र आनन्द अनी सुविधा आदिले फाईदा त होला तर यस्ता अल्पकालिन फाईदा भन्दा दिर्घकालिन बेफाईदाले व्याक्तिलाई विस्तारै जन्जालभित्र घेरिरहेको छ । वैदेशिक रोजगारिको कमाई केही समयको कमाई मात्र हो अथवा यो कमाई दिर्घकालिन सम्म रहदैन भन्ने सबैले बुझेकै बिषय हो यसमा अनेकौं कारणहरु छन । यसलाई नबुझी अथवा बुझेर पनि बेवास्ता गर्दै क्षणिक आम्दानीको आवेगमा आफ्नो वास्तविक धरातल बिर्सेंर धेरै ठुला-ठुला सपना देख्दै सुखसयल भोग्न चाहने र सुखसयल दिन चाहने दुवैथरी पछुताउने क्रम पनि कम छैन । आम्दानी गर्ने गार्जन अथवा श्रीमान/श्रीमती/परिवारका सदस्य विदेशमा पसिना बगाउने,स्वदेशमा रहने श्रीमान/श्रीमती/परिवारका सदस्य शहरमा विस्तारै अरुको सिको गर्दै विलासितर्फ उन्मुख हुने,सम्बन्धलाई भुलेर अनैतीक कार्य गर्ने, घरको आन्तरिक व्यवस्थापन राम्रो गर्न नसक्ने आदी कारणले भएको धेरै-थोरै कमाई बचत हुन सक्ने अवस्था नगण्य हुँदै गैरहेको छ । शहरको बढदो महङ्गी,भडकिलो रवाफ र खर्चिलो बन्दै जाने आदत तथा अन्य विभिन्न कारणहरुले घरायसी सम्बन्धमा मनमुटाव र दरार उत्पन्न भएका घटनाहरुआजभोली यत्रतत्र देखीन थालेका छन । त्यतिमात्र होइन कतिपय वैदेशिक रोजगारीमा रहने व्याक्तिहरु र स्वदेशमा रहने परिवार विच आपसी असमझदारी बढदाउत्पन्न हुने मनोवैज्ञानिक असर, शत्रुतापूर्ण दुशमनी, गैरजिम्मेवारपन, मानसिक चिन्ता,हृदयघात, आदिका कारण हाम्रै समाजमा अकल्पनीय घटनाहरु समेत घटीरहेका छन | स्वभाविक रुपमा रोजगारिका निमित्त परदेशमा अनेकौ दु:खकस्ट सहेर कमाएको २-४ पैसा जोगाएर आफ्नै मातृभूमीलाई नै कर्मभूमि बनाएर केही गरौ भन्ने चाहना अधिकाङश मान्छेहरुको हुन्छ । तर यस चपेटाभित्र त्यो चाहना पछिल्ला दिनहरुमा नजानिदो गरी आँफै निमोठिदै गएको छ जुन अत्यन्तै दु:खद पक्ष मात्र होइन चिन्ताको विषय पनि हो भन्दा अन्यथा नहोला  ।

त्यसो त रोजगारीका निमित्त परदेशमा रहेका सबै व्याक्तिहरुमा सवल र राम्रा पक्षहरु मात्र छन अनि गलत र दुर्वल पक्ष तथा कमजोरीहरु चाहि केवल स्वदेशमा रहने घर परिवारका मात्र हुन्छन भन्दा ठुलो अन्याय हुन जान्छ | पक्कैपनि परदेशीएका व्याक्तिहरुमा पनि कैयौं कमजोरीहरु र गैरजिम्मेवारीपना अनि समस्याहरु रहेका छन् | परदेशमा भएपछी आफुले जे गरेपनि कसैले नदेख्ने भन्ने भावना परदेशीएका धेरै जनमानसमा रहेको पाइन्छ र यसैलाई आधार मानेर कतिपय कुबाटो तर्फ लागेको तितो अनुभव पनि हामी माझ रहेको छ | कतिपयले आफ्नो परिवार र जिम्मेवारीलाई भुल्दै जानाजान विभिन्न कुलतमा फस्ने,अनैतिक सम्बन्धमा लट्ठ हुने, अत्यधिक मात्रामा मादक पदार्थ सेवन गर्ने,गैरकानुनी काम तथा धन्दा गर्ने,लामो समय सम्म पनि घर नफर्कने आदि थुप्रै गलत कार्यहरुका कारण स्वदेशमा रहेका परिवारजनको स्थिति नाजुक बन्न पुगेको छ | यसैकारण कतिपय परिवारको घरगृहस्थी चौपट्ट भएको पनि छ | कतिपय व्याक्तिहरु गलत सङ्गतका कारण विभिन्न मुद्दाहरुमा फस्ने,सम्बन्धित देशको कानुनको खिलाफमा कार्य गर्नेर पक्राउ पर्ने,व्याक्तिगत रुपमा आफुले अपनाउनुपर्ने सतर्कता तथा सावधानी नअपनाउने जस्ता घटनाहरु पनि बारम्बार उजागर हुँदै आएका छन |

वैदेशिक रोजगारीमा रहेका यस्ता अनेकौं प्रकारका समस्याहरुलाई नजिकवाट नियाल्ने र त्यसलाई समाधान गर्न उचित निती अख्तीयार गर्ने एवं रोगगारदाता देशसँग कुटनितीक सम्बन्ध विस्तार गर्नका निमित्त धेरैजसो देशहरुले सम्बन्धित देशमा आ-आफना दुतावास स्थापना गरेका हुन्छन | हाम्रो देश नेपालको सन्दर्भमा पनि वैदेशिक रोजगारीमा नेपालीहरु रहेका विभिन्न देशहरुमा सोहि प्रयोजनका लागि नेपाली दुतावासहरु रहेका छन | तर दु:खको कुरा हाम्रा नेपाली दुतावासहरु रहेको मुलुकमा रोजगारी गरिरहेका नेपालीहरुका सामान्य प्रकृतिका समस्याहरुमा दुतावास बेखबर हुने गरेको त छ नै कतिपय गम्भिर किसिमका समस्याहरुमा समेत दुतावास लामो समय सम्म जानकार रहने गरेको छैन | सम्बन्धित देशमा रहेका नागरिकहरुले आफु त्यस देशमा रहेर श्रम गरिरहेको जानकारी आफ्नो दुतावासमा गराउनुपर्ने दायीत्व त हो नै तर न त श्रम पोख्न आएका नागरिकहरुले यसलाई महत्वको विषय ठान्दछन न त दुतावासले आफ्ना देशका कति नागरिक आवातजावत हुँदैछन,कतीले काम गरिरहेका छन,कति समस्यामा परेर विभिन्न मुद्दा तथा जेलमा रहेका छन, अनि कती मातृभूमि फर्किसके भन्ने एकिन तथ्यांक राख्न नै सकेको पाइन्छ |यसरी वैदेशिक रोजगारीमा रहेका व्याक्तिहरु र त्यहाँ रहेको दुतावास बिचमा नङ मासुको अभिन्न सम्बन्ध नभएका कारण पनि नेपालीहरुले दु:ख पाइरहेका छन | श्रमीकहरु रहनेठुला-ठुला क्याम्पहरुमा दुतावासले चेतनामुलक जानकारी मात्र पाक्षिक अथवा मासिक रुपमा आवश्यकता अनुसार पायक पर्ने ठाउँहरुमा गर्ने हो भने पनि यो समस्या निक्कै समाधान हुन सक्दछ सँगै विभिन्न उदेश्य बोकेका सामाजिक तथा गैर सामाजिक संघ-संस्थाहरुले गर्ने कार्यक्रमहरुमा मात्र दश मिनेट यहाँको कानुन र पछिल्लो समयमा घटेका घटनाको दृस्टान्त दुतावासको समन्वयमा प्रस्तुत गर्दै जानकारी प्रवाह गर्ने हो भने पनि त्यो निक्कै उपलब्धिमुलक हुने कुरामा दुइमत छैन | यस्तै समस्याहरुको समाधान अथवा न्यूनीकरणका उपायहरु खोज्ने हो भने अरु पनि हुन सक्दछन तर यसमा कसैको खासै चासो रहेको पाइदैन |

तथापि यत्तिका समस्याहरु देखि बाहेक अन्य धेरैखाले समस्याहरु दुवैतर्फ रहेपनि वैदेशिक रोजगारीका निमित्त विभिन्न देशहरुमा कार्यरत व्याक्तिहरुका समस्याहरु वा स्वदेशमा रहने उनीहरुका परिवारका समस्याहरु समाधान गर्ने प्रधान व्याक्ति भनेको आफु स्वयम हो | व्याक्ति आफुले वास्तविकतालाई ध्यानमा राखेर आफ्नो जिम्मेवारी वोध गर्न सके र अन्जान विषयहरुमा आवश्यक जानकारी लिने कोशिसका साथ सचेतता अपनाउन सके स्वदेश तथा विदेश दुवैतर्फका धेरै उल्झनहरुलाई हल गर्न सकिन्छ भन्ने कुरामा कुनै दुइमत नहोला तर समस्या निराकरण गर्ने जिम्मेवारी सम्हालेका दुतावास हुन अथवा अन्य सरोकारवालाले आफ्नो दायीत्वबाट सँधैभरी मौन रहन भने मिल्दैन भन्दा अत्युक्ति नहोला |

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)