Aamsanchar

हिन्दू र बौद्धको आस्थाको केन्द्र मुक्तिनाथ जाने बढे,आम्दानी रु ६७ लाख

Author Image
बिहिवार, असोज १३, २०७३
mukttinath

mukttinath

 

बाबियाचौर (म्याग्दी) ।

बेनी–जोमसोम सडकमा सवारी आवतजावत सहज भएपछि मुस्ताङस्थित मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री बढ्न थालेका छन् ।

सोह्रश्राद्ध सकिन केही दिन बाँकी रहँदा सडक मार्ग भएर मुस्ताङ जाने तीर्थयात्रीको सङ्ख्या बढेको हो । विगतका वर्षमा सोह्रश्राद्ध सुरु भएको दिनदेखि नै मुस्ताङ जाने तीर्थयात्रीको घुइँचो लाग्ने गरेको थियो । सोह्रश्राद्धमा कागबेनीमा पुगेर पितृलाई पिण्डदान गरेमा पुण्य लाभ हुने धार्मिक विश्वास रहेको छ ।

बेगखोलामा आएको बाढी र अन्य ठाउँमा खसेको पहिरोका कारण बेनी जोमसोम सडकमा सिधा सवारी सञ्चालन नहुँदा तीर्थयात्रीलाई असुविधा भएको थियो । गत हप्ता सबै ठाउँमा सडक मर्मत गरेर साढे दुई महिनापछि ७६ किलोमिटर दूरीको बेनी—जोमसोम सडकमा सिधा सवारी सञ्चालन गर्न थालिएको थियो ।

सडक मार्ग भएर बुधबार अहिलेसम्मकै धेरै तीर्थयात्री मुस्ताङ गएका म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले जानकारी दिनुभयो । बेनीबाट जोमसोमका लागि १२, पोखरा र बागलुङबाट एकएकवटा माइक्रोबस जोमसोमका लागि छुटेका छन् । दैनिक एक सयवटा निजी र पर्यटक गाडी मुस्ताङतर्फ गएका छन् ।

यसअघि बेनी हँुदै मुस्ताङ जाने सार्वजनिक गाडीको सङ्ख्या दैनिक १२ वटाको हाराहारीमा थियो । तीर्थयात्री नआउँदा सुनसान भएका होटल बुक हुन थालेका छन् । बेनीका होटल व्यवसायी उत्साहित भएका छन् । सडकमा यातायात सहज भएको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा फैलाउन सकेमा मुस्ताङ जाने तीर्थयात्री र आन्तरिक पर्यटकको सङ्ख्या बढ्ने बेनीका होटल व्यवसायीले बताएका छन् ।

मुक्तिनाथको वार्षिक आम्दानी रु ६७ लाख

मुस्ताङ ।

हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको वार्षिक आम्दानी ६७ लाख रुपैयाँको हाराहारीमा हुने गरेको छ । मुक्तिनाथ विकास समितिले हालै सार्वजनिक गरेको वार्षिक आयव्ययमा रसिद सहयोगबाट सबैभन्दा बढी ५२ लाख ११ हजार रुपैयाँ आम्दानी भएको देखिएको छ ।

त्यस्तै, सुन बिक्रीबाट रु १२ लाख सात हजार र बैंक ब्याजबाट रु तीन लाख ८० हजार गरी ६७ लाख रुपैयाँ आम्दानी भएको समितिका अध्यक्ष एवम् मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सहयोगदाताबाट स्वतःस्फूर्तरुपमा सहयोग आउने क्रम बढेको छ ।

मुक्तिनाथ विकास समितिको खातामा यसअघि एक करोड ३५ लाख ९१ हजार रुपैयाँ मौज्दात थियो । एक वर्षको अवधिमा तलबभत्ता, कार्यालय सञ्चालन खर्च, सवारी भाडा, बिजुली, सरसफाइ, मेला व्यवस्थापन, बंैक कर, अनुगमन तथा भ्रमण, सञ्चालन मर्मत, फर्निचर, लेखापरीक्षण गरी १२ लाख ७७ हजार रुपैयाँ खर्च भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

“एक करोड ९० लाख ३२ हजार रुपैयाँ अझै हाम्रो खातामा छ, यसलाई आवश्यकताको आधारमा खर्च गर्दै जानेछौँ”, प्रजिअ अधिकारीले भन्नुभयो । मुक्तिनाथको आन्तरिक आयबाट चालु आर्थिक वर्षमा मन्दिरको छाना मर्मत, धारा तथा धुप बाल्ने ठाउँ निर्माण, सार्वजनिक चौतारा निर्माण र कार्यालय सञ्चालनका लागि रु ३७ लाख ४५ हजार बजेट विनियोजन गरिएको बताइएको छ ।

मुक्तिनाथमा दुईजना सहयोगी कर्मचारी, मुख्य पुजारीसहित केही आनीले काम गर्दै आएका छन् । कागबेनीमा पितृतर्पण र स्नानपछि अधिकांश भक्तजन मुक्तिनाथ पुग्ने गरेका छन् । मुक्तिनाथमा नेपालका साथै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन दर्शनका लागि आउने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१