Aamsanchar

१९ वर्षीया छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेका शिक्षकलाई थुनामै राख्न उच्च अदालतको आदेश

Author Image
बुधवार, मंसिर १०, २०७७

डोटी – बलात्कारको आरोपपछि मुद्दा खेपिरहेका केआईसिंह गाउँपालिका ४ का शिक्षक सोपीनाथ भट्टलाई उच्च अदालत दिपायल राजपुरले थुनामै राख्न आदेश दिएको छ ।  आफ्नै वडामा रहेको झिमेमालिका माविकी १९ वर्षीया छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा जिल्ला अदालत डोटीमा शिक्षक भट्टविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला अदालत डोटीका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले गएको कात्तिक १९ गते आरोपित शिक्षक भट्टलाई तीन लाख रुपैयाँ नगद धरौटी राखेर तारेखमा छोड्ने आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशपछि सरकारी वकिल कार्यालय डोटीले छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप खेपिरहेकालाई धरौटौमा छाड्न नहुने तथा थुनामै राखी आवश्यक अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकाल्दै शिक्षक भट्टविरुद्ध उच्च न्यायालय दिपायल राजपुरमा मुद्दा दर्ता गराएको थियो ।

दर्ता भएको पुनरावेदन मुद्दामा सुनवाइ गर्दै उच्च अदालत दिपायल राजपुरका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटीसहितको इजलासले तीन दिनभित्र सुरुको सक्कल मिसिलसमेत साथै राखी कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको थियो । जिल्ला अदालतबाट प्राप्त मिसिलको अध्ययनपछि उच्च अदालत दिपायल राजपुरले बलात्कार आरोपी भट्टलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश दिएको हो ।

शिक्षक भट्टले विद्यालयको वनभोजमा गएका बेला खिचिएको तस्बिर देखाएर ‘ब्ल्याकमेल’ गर्दै पटक–पटक बलात्कार गरेको छात्राको आरोप छ । गएको कात्तिक १ गते जिल्ला अस्पताल डोटीमा किशोरीको गरिएको स्वास्थ्य परीक्षणमा उनको पेटमा गर्भ रहेको पुष्टि भएपछि शिक्षक भट्टलाई थप कानुनी कारबाहीका लागि अदालतमा उपस्थित गराइएको थियो । ती किशोरीले अहिले काठमाण्डौ गएर गर्भपतन गराइसकेको बताइएको छ ।

उच्च अदालत दिपायल राजपुरले तीन लाख रुपैयाँ धरौटीमा छुटेका बलात्कार आरोपी शिक्षकलाई फेरि थुनामा राखेर कारबाही अगाडि बढाउन आदेश दिएपछि पीडितका आफन्त निकै खुसी भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर