Aamsanchar

दुई बर्ष भित्रमा निर्माण सम्पन्न हुने गरि  मेचीनगरमा १५ शैयाको अस्पताल शिलान्यास

Author Image
सोमवार, मंसिर १५, २०७७

काँकरभिट्टा । झापाको मेचीनगर -१० स्थित धुलावारीमा निर्माण हुन लागेको आधारभूत अस्पतालको सोमबार मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा शिलान्यास गर्नुभयो ।

नेपाल सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ मा एकैसाथ देशभरमा ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने लक्ष्य लिएको छ । यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको थियो । ती मध्ये २ सय ५० वटा पालिकामा सोमबार एकसाथ अस्पताल शिलान्यास गर्ने योजना अनुसार मेचीनगरमा १५ शैंयाको अस्पतालको नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।

१ सय ७ वटा स्थानीय तहमा १५ तथा बाकी स्थानीय तहमा ५ शैंयाको अस्पताल बन्न लागेको हो । नीति तथा कार्यक्रमा ५ देखि १५ शैंयाको अस्पताल निर्माण गर्ने लक्ष्य भए पनि सरकारले सवैतिर १५ शैयाको अस्पताल निर्माण गर्ने स्वास्थ्य मन्त्रालयको भनाई छ । अस्थायी अस्पताल सञ्चालनका लागि पालिकामा १०/१० लाख बजेट पठाईसकिएको र त्यो कार्यान्वयनको चरणमा रहेको छ । मेचीनगर स्वास्थ्य शाखा सहसंयोजक रामनारायण यादवले १८ करोड ६८ लाख २ हजार रुपैयाँको लागतमा अस्पताल बन्न लागेको जानकारी दिनुभयो ।

अहिले ७ सय ५३ पालिकाहरुमध्ये १ सय ४ वटामा विभिन्न तहका अस्पताल रहेका छन् । अस्पताल नरहेका ६ सय ४९ पालिकामा आगामी दुईवर्षभित्रमा कम्तीमा १५ शैंयाको अस्पताल सञ्चालनमा ल्याउने सरकारको लक्ष्य रहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर