Aamsanchar

नयाँ प्रकारको कोरोना भाइरस युराेपका आठ देशमा, युवाहरु बढी प्रभावित

Author Image
शनिवार, पौष ११, २०७७

काठमाण्डौ-नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण युरोपेली देशहरुमा पनि देखिन थालेको छ । युरोपेली संघ अन्तर्गतका आठ ओटा देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

डब्ल्यूएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको जानकारी दिनुभयो । उहाँले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाइकासाथ पालना गर्नु पर्नेमा पनि जोड दिनुभयो ।

कोरोनाको पुरानो भाइरसकोभन्दा फरक नतिजा देखाउँदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको पनि उहाँले जानकारी दिनुभएको छ । नयाँ प्रकारको कोरोना देखिएका आठ देशको पहिचान भएको बताए पनि उहाँले देशहरुको नाम भने उल्लेख गर्नुभएको छैन ।

उहाँले सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात हुने वा स्यानिटाइजरको प्रयोग गर्नेलगायतका उपायहरुलाई कडाइकासाथ अवलम्बन गर्न पनि आह्वान गर्नुभयो । डब्ल्यूएचओले सबै अवस्थालाई गम्भीरतापूर्वक नियालिरहेको छ,निर्देशक क्लुगले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।

यसको गुण, लक्षण, असरलगायतका बारेमा अध्ययन अनुसन्धान भइरहेको र नतिजा आएर धेरै कुरा प्रष्ट भइसकेपछि मात्रै थप नयाँ रणनीति तय गर्न सकिने डब्ल्यूएचओको भनाइ छ । नयाँ प्रकारको कोरोना बेलायतमा गएको हप्ता पुष्टि गरिएको थियो । यो नै पहिलो पटक पुष्टि भएको हो । त्यसपछि बेलायतबाट अन्य देशहरुमा आवतजावत गर्न थप प्रतिबन्ध लगाइएको छ । तर अन्य देशहरुमा पनि फैलिएको पुष्टि भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले गएको वर्षको मार्च ११ देखि विश्वभरि कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । महामारी अहिले पनि जारी छ । हकिङ्स विश्वविद्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म विश्वभरि सात करोड ९७ लाख १२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १७ लाख ४७ हजार ७९० भन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा धेरै प्रभावित अमेरिका भएको छ भने दोस्रो धेरै भारत र तेस्रो धेरै ब्राजिल प्रभावित भएको विश्वविद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर