Aamsanchar

इलाममा थप एउटा जलविद्युत् सञ्चालनमा आउने, सिद्धिखोलाबाट ६ दशमलव ५ मेगावाट विद्युत् निकालिने

Author Image
बुधवार, पौष १५, २०७७

इलाम-इलाममा थप एउटा जलविद्युत् सञ्चालनमा आउने भएको छ। इलामको सिद्धिखोलाबाट ६ दशमलव ५ मेगावाटको जलविद्युत् सञ्चालन हुने भएको हो। रोङ गाउँपालिकामा र सूर्योदय नगरपालिकाको सिमाना बनाएर बग्ने सिद्धिखोलामा सिद्धि हाइड्रो सञ्चालन हुने भएको हो।

आउने २०७८ साउनसम्ममा काम सम्पन्न गर्ने गरी काम थालिएको छ। रोङ–६ र सूर्योदय नगरपालिका–५ को खरबनी नजिकैको स्थानमा हेड ट्याङ्की निर्माण गरिएको छ। तीन हजार ६०० मिटरमुनि सुङतुङ र रोङ–६ को रामभेडेसम्म पाइप लाइन विस्तार गरी रामभेडेमा विद्युत्गृह निर्माण गरिने छ। दुई वटा पेल्टन टर्वाइन राखेर बिजुली निकाल्नका लागि करिब रु एक अर्ब २० करोड लगानी लाग्ने अनुमान गरिएको इञ्जिनीयर दिवस भट्टराईले बताए।

यस खोलामा यसअघि लुम्बिनी हाइड्रोले १० दशमलव २ मेघावाट बिजुली निकाल्ने तयारी गरेको थियो, तर खोलामा पानीको मात्रा कम भएकाले बढी विद्युत् निकाल्न नसकिने भन्दै ६ दशमलव ५ मेगावाट विद्युत् उत्पादनको तयारी थालिएको हो। आयोजना सञ्चालनका लागि रम्भ्याङबाट हेड ट्याङ्क र विद्युत्गृहसम्मको पहुँच मार्ग करिब निर्माण भइसकेको छ। कार्यालय सञ्चालनका लागि भवनसमेत निर्माण गरिसकिएको इञ्जिनीयर भट्टराईको भनाइ छ। यहाँबाट उत्पादित बिजुली फिक्कलमा रहेको ट्रान्समिसन लाइनसम्म लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिने छ‍।

गाउँमा जलविद्युत् सञ्चालनपछि स्थानीयवासी खुशीसमेत भएका छन्। गाउँगाउँमा सडक निर्माण हुने र आफ्नै ठाउँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भन्दै उनीहरु खुशी भएका हुन्। आफ्नो दायित्वको काम गरे अझ स्थानीयवासीको क्षमता विकास र वातावरणीय प्रभाव कम गर्ने खालका काम गरिने स्थानीय गोविन्द पौडेलको भनाइ छ। इलामका विभिन्न खोलामा एक दर्जन बढी जलविद्युत् सञ्चालनमा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर