
डिभी पर्नेहरुले तत्काल अमेरिका जान नपाउने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडका कारण डिसेम्बर ३१ सम्मका लागि अमेरिकी भिसा र अमेरिका प्रवेश प्रतिबन्धको आदेश दिएका थिए। यो समय आउँदो मार्च ३१ सम्म थप गरिएको छ। ट्रम्पको मूल आदेशको म्याद सकिने समय सुरु हुनुभन्दा केही घण्टा अगाडी ह्वाइट हाउसले म्याद थपको घोषणा जारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
जसका कारण, विभिन्न प्रवेशआज्ञामा आप्रवासीहरूको प्रवेश मार्च ३१ सम्ममा प्रतिबन्धित हुनेछ। तर बीचैमा जनवरी २० मा पदभार ग्रहण गर्ने बाइडेनले यसलाई रद्द गरिदिए भने मात्र प्रवेश सहज हुनेछ। नेपालमा डिभी चिट्ठा परेर प्रवेशाज्ञा पाएर डिसेम्बर ३१ पछि अमेरिका प्रवेशको प्रतीक्षामा रहेका नेपालीलाई समेत यसले असर परेको छ। अमेरिकी सञ्चार माध्यमका अनुसार निर्वाचित राष्ट्रपति जो बाइडेनले जनवरी २० मा सपथ लिएपछि दर्जनौं कार्यकारी अधिकारी घोषणा गर्ने सम्भावना रहेको जनाएका छन्। तर यसलाई समय लाग्न सक्नेछ किनभने उनको ध्यान पनि कोरोनातर्फ केन्द्रित छ।

२०१९ को कोरोना भाइरस (कोभिड१९)ले अमेरिकीहरूको जीविकोपार्जनमा ठूलो बाधा पुर्याइरहेको छ, ह्वाइट हाउसमा घोषणा गरिएको विज्ञप्तिमा भनिएको छ। उक्त घोषणामा संयुक्त राज्य अमेरिकामा गत नोभेम्बर महिनामा कुल बेरोजगारी दर ६ दशमलव ७ प्रतिशत रहेको भने गत अप्रिल महिनामा उच्च रहेको जनाएको छ।

निलम्बन हुने प्रवेशाज्ञाहरुमा एच–१ बि, एच–२ बी ,एच–४ बि, एल–१ र केही जे–१ मा लागू हुनेछ। उक्त आदेशबाट प्रभावित सबैभन्दा ठूलो कार्यक्रम एच–१ बि प्रवेशाज्ञा हो, जसका प्राप्तकर्ताहरू प्राविधिक उद्योगमा दक्ष श्रमिकहरू हुन्। जो संयुक्त राज्य अमेरिकामा धेरै वर्षसम्म बसोबास गर्न सक्छन्।
एच–२ बी भिसा मौसमी कामदारहरूमा लागू हुन्छ र एच–४ भिसा पाउनेका पति या पत्नीलाई दिइन्छ। यसै गरि जे–१ भिसा अन्वेषकहरू, विद्वानहरू र अन्य विशेष वर्गलाई दिइन्छ, एल–१ भिसा संयुक्त राज्य अमेरिकामा समान रोजगारदातासँग विदेशबाट स्थानान्तरण गर्ने कार्यकारीहरूको लागि छुट्याइएको हुन्छ।


