Aamsanchar

कोरोना विरुद्धको खोप अभियान ७७ जिल्लामा एकै साथ सुरु

Author Image
बिहिवार, माघ ८, २०७७

सरकारले कोरोनाविरुद्धको खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको छ । अनुदानमा आएको कोभिसिल्ड नामक खोप पहिलो डोज फ्रन्टलाइनमा खटिएकालाई दिने निर्णय गरेपनि दोस्रो डोज कहिले दिने भनेर निर्णय भएको छैन । यसअघि स्वास्थ्य मन्त्री त्रिपाठीले नेपालमा खोप आएको एक हप्ता भित्र वितरण गर्ने बताएका थिए । खोप लगाउने व्यक्तिलाई मन्त्रालयले कार्ड दिनेछ । हाल खोप दिइनेहरुको नामावलीको इन्ट्री कार्य भइरहेको छ ।

खोप खरिदका लागि सबै तयारी पूरा

नेपाल सरकारले खोप खरिदका लागि तयारी पुरा गरेको मन्त्री त्रिपाठीले बताए । खोप खरिदको लागि आर्थिक र प्रशासनिक कुनै जटिलता नरहेको समेत उनको भनाइ छ । सरकारले कोरोनाविरुद्धको खोप उत्पादन गर्ने ६ वटा देशलाई कुटनीतिक नोट पठाएको छ । विश्वभरि नै कोरोना महामारी फैलिएकाले उत्पादक कम्पनीबाट सिधै खोप किन्न सक्ने अवस्था नभएकाले खोप उत्पादन गर्ने देशसँग व्यक्तिगत प्रभावको आधारमा समेत आगडि बढेको मन्त्री त्रिपाठीले बताए ।

विश्व बजारमा उत्पादन भएका खोपमध्ये नेपालसँग भएको पूर्वाधारले दुईदेखि आठ डिग्री सेन्टिग्रेटको खोपहरुलाई सहज रुपमा भण्डारण, ढुवानी गर्न सकिन्छ । नेपालको रोजाइमा दुईदेखि आठ डिग्री सेन्टिग्रेडमा राख्न सकिने खोप परेको छ । भारतले कोरोनाविरुद्धको खोपसम्बन्धी नेपाल लगाएत ६ देशका स्वास्थ्यकर्मीहरुलाई भर्चुअल माध्यमबाट प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय अन्तरगतको खोप महाशाखाले नेपालसँगै माल्दिभ्स, भुटान, म्यानम्यार, बंगलादेश र मंगोलियालाई खोपसम्बन्धी पहिलो प्रशिक्षण समेत दिएको छ । तालिम लिएका प्रशिक्षकहरुले भ्याक्सिन अभियानमा सहभागी स्वास्थ्यकर्मीहरुलाई तालिम दिने छन् ।

खोप भण्डारणको लागि नेपालको क्षमता कति ?

२ देखि ८ डिग्रीमा भण्डारण गर्नुपर्ने खोपलागि कोल्ड चेन नेपालसँग उपलब्ध छ । सरकारले यसअघि नै माइनस २० डिग्री सेल्सियससम्मको खोप भण्डारको क्षमता बढाउनका लागि आवश्यक उपकरण खरीद गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको थियो । कुल जनसंख्यामध्ये ७२ प्रतिशतलाई खोप दिइने सरकारले निर्णय गरेको छ । कोभ्याक्स फ्यासिलिटिमार्फत २० प्रतिशतलाई पुग्ने खोप प्राप्त हुन्छ भने बाँकी सरकारले आफै खरीद गर्दा ४८ अर्ब रुपैयाँ बराबर खर्च लाग्ने सरकारले अनुमान लगाएको छ ।

Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर