इलाम,

इलामको दानाबारी-महमाईको बिचमा पर्ने माइखोलामा डुङ्गा दुर्घटना भएको छ । कम्तिमा ५० जना यात्रु बोकेर दानाबारीबाट माइखोला महमाई तर्फ आउँदै गर्दा डुङ्गा दुर्घटनामा परेको हो । दुर्घटनामा परेकामध्ये ८ जनाको शव भेटिएको छ ।

बढी भार भएको र तीन दिनदेखि परेको अविरल वर्षापछि माइखोलामा बाढि आएको कारण डुङ्गा अनियन्त्रित भएर पल्टेको हुनसक्ने प्रहरीको अनुमान छ । शुक्रबार दिउँसो १२ बजेतिर भएको दुर्घटनामा ३१ जनाको सकुशल उद्धार गरिसकेको स्थानीय चन्द्रकान्त ढकालले जानकारी दिनुभएको छ ।
माइखोलामा ठूलो बाढि आएको कारण पल्टिएको डुङ्गा पनि हराएको छ । डुङ्गामा कति सवार थिए भन्ने यकिन भने भएको छैन । स्थानीय बासिन्दाका अनुसार डुङ्गामा ५० जनाभन्दा बढी यात्रु थिए । दुर्घटनामा परेर ज्यान गएकाहरुको परिचय खुल्न सकेको छैन ।

अहिले दुर्घटनास्थलमा स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार र खोजि गरिरहेको छ । बिस्तृत विवरण आउन बाँकी छ ।

