प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले मञ्चले नेपालको पर्यटन प्रबद्र्धन गर्नका लागि ‘सेफ नेपाल–भिजिट नेपाल’ नारा दिएर यहाँका ३ सहरमा कार्यक्रम आयोजना गरिरहेको छ । सोही कार्यक्रममा सहभागी हुन आएका एमाले महासचिव ईश्वर पोखरेलले नेपालमा राम्रो काम गर्दागर्दै पनि धेरै कमीकमजोरीहरु भएकाले देशको बिकास हुन नसकेको स्वीकारे । उनले देश विकासका लागि प्रवासमा रहेका नेपालीहरुको समेत महत्वपूर्ण भूमिका रहने बताउँदै यस कार्यमा सहयोगका लागि आग्रह समेत गरे ।
एमाले महासचिव पोखरेलले बेला न कुबेला संविधान संशोधन नहुने बताएका छन् । संविधान जारी गर्दा र संशोधन गर्दा राष्ट्रिय स्वाभिमान गिर्न दिन नहुने जिकिर समेत पोखरेलले गरे ।
९० प्रतिशत जनताको प्रतिनिधिले पारित गरेको संविधान नमान्ने अधिकार कसैलाई नभएको बताउँदै पूर्वउपप्रधान एवं परराष्ट्र मन्त्री समेत रहेका पोखरेलले विगतमा संविधान जारी नै नगरौं भन्नेहरु भएपनि संविधान जारी गरिएको दाबी गरे । संविधान कार्यान्वयनका कार्यसूचिमा विदेशमा रहेका नेपालीहरुलाई समेत आफ्नो तर्फबाट सक्दो सहयोग गर्न पोखरेलले आग्रह गरे । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले नेपालका राजनीतिक दलहरुले अहिलेसम्म गरेका गल्तीहरुलाई नदोहोर्याउने प्रतिबद्धता नगरेसम्म देश विकास हुन नसक्ने कथन थियो ।
कार्यक्रममा पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलले नेपालमा महाभूकम्प गएपछि पर्यटन क्षेत्रमा सुस्तता आएको तर अहिले सम्पुर्ण अवस्था सामान्य भइसकेकाले पर्यटनका लागि नेपाल उपयुक्त स्थान भएको जिकिर गरे । अन्य देशको तुलनामा नेपालमा प्राकृतिक क्षेत्रहरु हेर्न पाइने भएकाले समेत नेपाल पर्यटन क्षेत्रका लागि स्वर्ग भएको उनको भनाई थियो । उनले विदेशमा रहेका हरेक नेपालीलाई एकजना पर्यटकलाई नेपाल भ्रमणका लागि लैजान आग्रह समेत गरेका थिए ।
कार्यक्रममा अष्ट्रेलियाली राजनीतिक दल लेबरकी सांसद जुलिया फिनले नेपाल भ्रमण गर्नका लागि उपयुक्त देश भएको भन्दै एकपटक सबैले भ्रमण गनुपर्ने बताएकी थिइन् ।
मञ्चका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा अवैतनिक महावाणिज्यदुत दीपक खड्का, एनआरएन अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष दिनेश पोखरेल, न्यू साउथ वेल्सका पर्यटन प्रतिनिधि बद्रि अर्याल लगायतको सहभागिता थियो ।