इलाम ।
इलामको दानाबारी र महमाईबीचको माइखोलाको चन्डालघाटमा शुक्रबार भएको डुंगा दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक/एक लाखका दरले राहत उपलब्ध गराइने भएको छ ।
जिल्लास्तरीय दैवीप्रकोप उद्धार समितिले प्रतिमृतक रु एक लाखका दरले काजकिरिया खर्च र राहत उपलब्ध गराउने भएको हो ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकले भविष्यमा यस्ता दुर्घटना हुन नदिन जिविसको समन्वयमा स्थानीय गाविसले डुंगा सन्चालनसम्बन्धी स्पस्ट मापदन्ड तयार गरी अनिवार्यरूपमा लागू गर्न निर्देशन दिने पनि निर्णय गरेको छ ।
चन्डालघाटमा निर्माणाधीन रहेका छुट्टा–छुट्टै झोलुंगेपुल र पक्कीपुल यथाशीघ्र चाँडो निर्माणका लागि पहल गर्ने पनि निर्णय गरेको छ ।
बैठकमा सहभागी निमित्त स्थानीय विकास अधिकारीसमेत रहेका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाकाअनुसार दुबै पुल छिटो निर्माण सम्पन्न गर्न र गराउनका लागि पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, व्यवस्थापिका–संसदमा इलामबाट प्रतिनिधित्व गर्ने सांसद र मन्त्रालयमार्फत् पुलका ठेकेदार कम्पनीलाई पहल गर्ने सहमति बैठकले गरेको हो ।
गत असोज २५ गते विजयादशमीको दिन महमाई–३ मा पहिरोसँगै झरेको रूखले किचेर मृत्यु भएका दुईजनाको परिवारलाई पनि रु एक/एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको प्रजिअ दाहालले जानकारी दिए ।
डुंगा दुर्घटनामा हराएकामध्ये ८ जनाको शव फेलापरिसकेको छ र सातजनाको सनाखत भइसकेको छ ।
घटनास्थलमा गरिएको प्रारम्भिक अध्ययनले डुंगामा ४२ जना यात्री चढेको पुष्टि भएको र यात्रीबाहेक केही मोटरसाइकल र सामान पनि रहेकाले डुंगा धेरै भार थेग्न नसकेर दुर्घटना भएको अनुमान गरिएको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले बताए ।
डुंगाका यात्रीले लगाउने १५ थान ‘लाइफ ज्याकेट’ र खोला तर्न मिल्ने गाडीको ट्युब डुंगा सन्चालकहरूलाई उपलब्ध गराइएको छ । जिविस र गाविसको पहलमा सुरक्षा निकायबाट प्राप्त भएका ती लाइफ ज्याकेट र ट्युब उपलब्ध गराइएको हो ।
आगामी दिनमा हरेक यात्रीले लाइफ ज्याकेट लगाएरमात्र डुंगामा सवार गर्न र गराउन पनि निर्देशन गरिएको छ ।