Aamsanchar

स्क्रब टाइफसबाट ६ महिनामा नौजनाको मृत्यु

Author Image
बुधवार, कार्तिक ३, २०७३

चितवन,

scribe

देशभरमा गरी छ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ । विभिन्न जिल्लाबाट वैशाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट दुई सय ४६ र स्क्रब टाइफसबाट हालसम्म तीन सय ८५ जना सङ्क्रमण भएको पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँले जनाएको छ ।

महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले सङ्क्रमण भएका मध्ये दुईवटै रोगका बिरामी सबैभन्दा धेरै चितवनमा देखापरेको जानकारी दिनुभयो । “केही जिल्लाको पछिल्लो विवरण आउन बाँकी भए पनि अहिलेसम्म प्राप्त विवरणअनुसार नेपालका ३८ जिल्लामा टाइफसको सङ्क्रमण भएको छ”, शर्माले भन्नुभयो, “चितवनलगायत केही जिल्लामा डेङ्गु सङ्क्रमणसमेत बढेको छ ।”

चितवनसहित नवलपरासी, कपिलवस्तु, मकवानपुर जिल्लामा समेत डेङ्गु देखिएको छ । डेङ्गु र स्क्रब टाइफस रोगबाट चितवन जिल्लामा मात्रै पाँच सय २६ जना सङ्क्रमित भएका छन् । बाँकी एक सय पाँचजना मात्रै अन्य जिल्लाका अस्पतालमा उपचार गरिएका बिरामी हुन् जसमा डेङ्गुका २७ र स्क्रब टाइफसका ७८ जना चितवनबाहिर रोग पुष्टि भएका बिरामी छन् । अरू सबै चितवनमा पुष्टि भएका बिरामी हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले डेङ्गुबाट चितवनमा उपचार गरेका दुई सय १९ र स्क्रब टाइफसबाट हालसम्म तीन सय सातजना सङ्क्रमित भएको जानकारी दिनुभयो । उहाँले डेङ्गुको सङ्क्रमण बढ्दो रहे पनि स्क्रब टाइफसको सङ्क्रमण दरमा केही घटेको पाइएको बताउनुभयो ।

इपिडिमियोलोजी शाखाप्रमुख डा शर्माका अनुसार २०७३ सालको वैशाखदेखि अहिलेसम्म नेपालमा स्क्रब टाइफसबाट नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई, सङ्खुवासभाका दुई, कैलालीका दुई, तनहुँका एक, गुल्मीको एक र भोजपुरका एकजना छन् । अघिल्लो वर्ष एक सय एकजनामा टाइफस सङ्क्रमण हुँदा आठजनाको मृत्यु भएको डा शर्माले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)