वासिङ्टन । लाखौँ अमेरिकी नागरिकले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा नलगाएको पाइएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)काअनुसार खोपको पहिलो मात्रा लगाएका ५० लाख बढीले दोस्रो मात्रा लगाएका छैनन् ।
उनीहरूले दोस्रो मात्रा नलगाउनुमा विविध कारण रहेको सीडीसीले जनाएको छ । तीमध्ये केहीले खोपको साइड इफेक्टको डरका कारण त केहीले सुरक्षाका लागि पहिलो मात्रा नै पर्याप्त रहेको महसुस भएपछि दोस्रो मात्रा नलिएको बताएका टाइम्स अफ इन्डियामा समाचार प्रकाशित छ ।
धेरै अमेरिकी राज्यका अधिकारीहरूले फोन तथा मेसेजमार्फत् नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा लिन स्मरण गराइरहेका छन् । खोपको पहिलो डोज मात्र लिनेको तुलनामा दुवै डोज लिनेहरू बढी सुरक्षित हुने परीक्षणबाट प्राप्त नतिजाहरूले देखाएका समाचारमा उल्लेख छ । अमेरिकामा कोरोना भाइरस संक्रमणदर बढीरहेको भए पनि खोप लगाउनेको संख्यामा कमि आएको जनाइएको छ । शनिबार मात्र यहाँ ५० हजारबढीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।