खोटाङ :
खोटाङको पश्चिमी गाविस डिकुवाका स्थानीयले पर्यटकीयस्थल भुम्जुडाँडासम्म पुग्नका लागि चन्दा उठाएर सडक निर्माण गरेका छन्।
भुम्जुडाँडा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै डिकुवाका १८ घर स्थानीयले १ हजारदेखि ५ हजारसम्म चन्दा उठाएर तीन किलोमिटर सडक निर्माण गरेका हुन्। १४ लाख बढीको लगानीमा निर्माण गरिएको सडकका लागि गाविसको ३ लाख सहयोग रहेको निर्माण उपभोक्ता समितिका संयोजक बागदल खत्रीले बताए।
पर्यटकीयस्थल भुम्जुडाँडा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको डिकुवा गाविसमा पर्दछ। सदरमुकाम दिक्तेलबाट च्यास्मिटार–डिकुवा हुँदै भुम्जुडाँडा पुग्ने बाटो खुलाइएको निर्माण उपभोक्ता समितिले जनाएको छ।
भुम्जुडाँडामा खोटाङको पश्चिमी गाविससँगै छिमेकी जिल्ला उदयपुर, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, सिराहा, सप्तरी, सुनसरी, मोरङलगायतका पर्यटक आउने गरेका छन्।