Aamsanchar

अक्सिजन र भेन्टिलेटरको कमीका बीचमा यो वर्षको मातातीर्थ औँसी

Author Image
मङ्गलवार, वैशाख २८, २०७८

यो वर्ष सबै आमाका छोराछोरीहरू सुरक्षित रहुन् । हरेक छोराछोरीका आमाहरू सुरक्षित रहुन् । पृथ्वीका हरेक जीवात्माहरूका आमा र सन्तानहरूमा कृपा रहोस् । मुस्कान कायम होस् अनि सबैका परिवारजन खुसी रहुन् ।

कोरोना भाइरस सन्त्रासमा हरेक दिन बढ्दो मृतकको संख्या, संक्रमण र संक्रमितको वृद्धिदर अनि अस्पतालमा बढ्दो बिरामीको चाप, अक्सिजन र भेन्टिलेटरको कमीका बीचमा यो वर्षको मातातीर्थ औँसीमा सबैलाई साधुवाद छ ।

मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’

उल्लेखित संस्कृत श्लोकहरूले आमा अर्थात् मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्ण पक्षको औँसी : यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औँसी ।

शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरूले आमाबाट शुभ–आशिर्वाद ग्रहण गर्ने चलन छ ।

आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यो घडीमा मातातीर्थ औँसी, मातृऔँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झिने दिन हो । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन हो, ‘आमा’ ।

हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा । अनि पल–पलमा सम्झना आउने, सुख दुःखमा झझल्को आउने एउटा अनुहार, ‘आमा’ ।
बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् ।

बिवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमाघर अर्थात माइती पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने संचारका साधनहरूमार्फत् पनि सम्झने गर्छन् ।

मानिसहरूले सामाजिक सञ्जालहरूका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरू व्यक्त गर्छन् । पौराणिक कालदेखि नै मनाउँदै आएको आमाको मुख हेर्ने दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्छन् । आज काठमाडौं उपत्यकाका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्छन् ।

तपाई पनि आमाबाट पर हुनुहुन्छ भने एकफेर फोन गरेर आमाको आवाज सुन्ने पो हो कि ? या आमाको याद अनि स्मरण गर्दै साथी–भाईसँग आफ्नी आमाको वर्णन र स्नेहको वृत्तान्त सुनाएर आमाको याद ताजा गर्ने पो हो कि ? जे गर्नुहुन्छ । राम्रो काम गर्नुहोस् । जगतको भलो होस् । आमाको माया र उहाँले खुवाउनुभएका दूधका धर्साहरू प्रति हामी वफादार र इमान्दार हुन जरुरी छ ।

आजभोलि अनेकन कारणले आमा बुबालाई वास्ता नगर्ने अनि वृद्धाश्रम लगायत आगन्तुक ठाउँमा लगेर राख्ने चलन बढ्दै गएको छ । जुन मानवताप्रति नै एउटा आक्षेप हो । समय त खोला न हो । आफूले गरेका काम–व्यवहारहरू आफैतिर फर्किने समय पनि आउँछ । बगेको समयमा आफ्नो दायित्वबाट विमुख हुनु मानव चरित्र पक्कै होइन ।

मातातीर्थ औँसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्छ । तीर्थाटनमा सहभागीहरूले मातातीर्थ कुण्डमा स्नान गर्छन् । जनश्रुति अनुसार, पहिले मातातीर्थमा गोठालाहरूले गाई–बस्तुहरू चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अनाचक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरू अचम्मित भए । गोठालाहरूले पुनः अरु रोटीका टुक्राहरू पनि फ्याँके । ती टुक्राहरू क्रमशः हराउँदै गए । ती गोठालाहरूमध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् ।

आमा नहुने गोठालाहरूले फ्याँकेका रोटीका टुक्रा मात्रै गायब हुन्थे । उक्त दिन बैशाख कृष्णपक्ष औँसी थियो । यो कुरा अरु गाउँलेहरूले पनि थाहा पाए । गाउँलेहरूले उक्त दिन मृत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे । हरेक वर्ष उक्त औँसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यु भइसकेकाहरूले अनेकन मिष्ठान भोजन लागि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो ।
यसरी हरेक वर्ष आमा नहुनेहरूले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठा–मीठा खाद्य पदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरूप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।

मातातीर्थ औँसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिककालदेखि मनाइँदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झिने दिन हो । यिनै आमा जसले हामीलाई संसार देखाइन् । गर्भमा राखेर जन्म दिइन् । अनि काखमा राखेर पालिन् । ममता कि खानी अनि बालापनामा हाम्रा हरेक इच्छा, आकांक्षा अनि चाहान पूरा गरिदिने कल्प वृक्षसरी, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)