काठमाडौँ ।
नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउन माग गर्दै विश्व हिन्दू महासङ्घको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
यही कात्तिक ४ गते सुरु भएको सम्मेलनले संसारका ९४ प्रतिशत ओमकार परिवारको भावनालाई सम्मान गरी अविलम्ब हिन्दू राष्ट्र घोषणा गर्न सरकार तथा अन्तर्राष्ट्रिय जगत्लाई ध्यानाकर्षण गरेको छ ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका नवनिर्वाचित अध्यक्षमा भरतकेशर सिंहले विश्वमा सनातन वैदिक संस्कृति तथा हिन्दू सभ्यताको प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त सम्मेलनले नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएपछि विश्वमा गौवंश संरक्षित नभएको तथ्यलाई मनन गर्दै गौवंश संरक्षणका लागि प्रभावकारी अभियान चलाउने निर्णय गरेको छ ।
सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, नेदरल्यान्ड, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिकालगायत मुलुकबाट प्रतिनिधि सहभागी थिए । त्यसैगरी सम्मेलनमा अनन्त श्री विभूषित जगत् गुरु शङ्कराचार्य वासुदेवानन्द सरस्वती, भारत लोकसभाका सांसद गोरक्ष पीठाधीश्वर महन्त योगी आदित्यनाथजी महाराज, जैन धर्मका प्रतिनिधि सहभागी थिए ।
उक्त सम्मेलनले बिहीबार स्थानीय वनकालीमा ‘अन्तर्राष्ट्रिय विराट हिन्दू महासम्मेलन’को उद्घाटन गरेकामा पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमललाई कृतज्ञता व्यक्त गरेको छ ।