झापा ।
विश्वमा रक्सी पिउने महिलाको संख्या झण्डै पुरुष समान पुगेको एक अध्ययनले देखाएको छ । महिला र पुरुषबिच रक्सी पिउने दरमा रहेको भिन्नता निकै कम भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
सन् १८९१ देखि २००१ सम्ममा जन्मिएका ४० लाख मानिसको अध्ययनबाट यस्तो देखिएको हो । पछिल्लो १५ देखि २५ वर्षमा जन्मिएका महिलाको रक्सी पिउने दर पुरुष समान पुग्न थालेको अध्ययनले देखाएको छ ।
अस्ट्रेलियाको न्यु साउथवेल्स विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनबाट यसअघि स्वास्थ्य समस्या देखिने गरी रक्सी पिउनेमा पुरुष बढी रहेकोमा अहिले महिलाको संख्या पनि बढ्दै गएको छ ।
पछिल्लो केही दशकदेखि महिला तथा पुरुषको भूमिका परिवर्तन हुँदै गएकाले रक्सी पिउने महिलाको संख्या बढ्दै गएको अनुसन्धानमा संलग्न लण्डन स्कुल अफ हाइजेन एण्ड ट्रोपिकल मेडिसिनका प्राध्यापक मार्क पेट्टिक्र्युले बताउनुभयो ।
रक्सीको सहज उपलब्धता तथा युवा महिलालाई लक्षित गरेर रक्सीको बिक्री वितरण केन्द्रित गर्ने गरिएकाले रक्सी पिउने महिलाको संख्या बढेको अनुसन्धानकर्ताले बताएका छन् । उज्यालोबाट