Aamsanchar

कन्या पूजामा १ घण्टाका लागि जाँदा ५० हजार दिने भन्दै २ युवतीलाई बेच्न लैजाँदै गरेका दम्पती पक्राउ

Author Image
शुक्रवार, जेठ २१, २०७८

पर्सा – कोरोना महामारीबीच पनि मानव बेचबिखन तथा ओसारपसारमा संलग्नहरू सल्बलाएका छन्। आज (शुक्रबार) पर्सामा दुई अभियुक्तले युवती बेच्न लैजाँदै गरेको खुलेको छ। पक्राउ पर्ने उनीहरू श्रीमानश्रीमती हुन्। गोरखा घर भएका २० र २२ वर्षका दुई युवतीलाई ललाफकाई नेपालगञ्ज हुँदै वीरगन्ज ल्याइपुर्‍याएको समयमा उनीहरू पक्राउ परेका हुन्। उनीहरूको गन्तव्य भने वीरगन्ज हुँदै भारतको बेतियातर्फ रहेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

अभियुक्तहरूलाई वीरगन्जको इनरवामा खटिएका सुरक्षाकर्मीले शंकराचार्य गेट नजिक चेकजाँच गर्दा पक्राउ गरेका खनालले बताए। पक्राउ परेका अभियुक्तमा भारत बिहार पूर्वी चम्पारण थाना पहाडपुर, ग्रामपञ्चायत अहिरओलिया गोदाम वडा नम्बर ४ का २७ वर्षीय अस्गर सैफी र निजकी श्रीमती तनहुँ दमौली नगरपालिका ५ की सकिना खातुन भनिने सीता थापा क्षत्री रहेका पर्सा प्रहरीले जनाएको छ।

नेपालगञ्जमा कन्या पूजा छ, कन्या पूजामा १ घण्टाका लागि जाँदा ५० हजार दिने भनी फकाएर उनीहरूले गोरखाका ती युवतीहरूलाई घरबाटै हिँडाएका खनालले बताए।

‘ पछि पैसाचाहिँ वीरगन्जमा पाइन्छ भन्दै वीरगन्जसम्म फेरि ल्याएछन्। यहाँ पनि पैसा मिलेन भारतको वेतियामा नै जाउँ त्यहीँ पैसा पाइन्छ भन्दै लिएर जाँदै गरेको अवस्थामा नाकामा नै पक्राउ गरिएको हो,’  खनालले भने। पक्राउ परेका अभियुक्तद्वयलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत कसुर अभियोगमा मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई शुक्रबार नै पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान पनि बढाइँदै गरिएको पर्सा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर